काठमाडौ । नेपाल स्पोर्टस् संघको आयोजनामा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनशिप २०२२ आषाढ २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ।
पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।
छोटो समयमा नै विश्वका युवाहरुमाझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरुमाझ निकै नै रुचाईएको खेल पर्दछ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनशिपमा डोटा २ (DOTA 2), सिएस गो (CS:GO), एमएलबिबी (MLBB), टेकेन ७ (TEKKEN 7) र पब्जी (PUBG) गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्।
आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनशिपका प्रतियोगिताहरु सञ्चालन भइसकेको र आषाढ २३ गतेदेखि फाईनल खेलहरु आयोजना हुने समेत जानकारी गराए ।
जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच आषाढ १६ गतेसम्म सेमिफाईनलका प्रतिस्पर्धा भईरहेको अध्यक्ष डङ्गोलले जनाएका छन्।
च्याम्पियनशिप ईण्डोनेसियाको बालीमा आयोजना हुने १४औं विश्व ईस्पोर्टस् च्याम्पियनशिप २०२२ को छनौट प्रतियोगिता समेत रहेको छ।
विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनशिपमा छनौट भएपश्चात विश्व च्याम्पियनशिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन् ।
च्याम्पियनशिपलाई विभिन्न संघसंस्थाले साथ दिएका छन् । जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा.लि.ले लिएको छ।
यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्यामिपयनशिपलाई साथ दिएको छ। प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै प्राईम कलेजका प्रिन्सिपल एनपी शर्माले पढाई मात्र नभई खेलकुद गतिविधिमा समेत कलेजको लगानी रहेको भन्दै आफ्ना कलेजका आईटिका विद्यार्थीहरुविच र युवाहरुकोविच निकै नै लोकप्रिय रहेका ईस्पोर्टस्लाई साथ दिन पाएकोमा हर्ष महशुस भएको भन्दै ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ति प्रदान गर्ने बताए।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ २३:०४