सार्बजनिक यातायातको पर्खाइमा निकै वेर रत्नपार्कमा कुर्नु पर्यो त्यो दिन मैले । म आफ्नो घर छेउ पुग्ने माइक्रो बसलाई गिद्धे नजर लगाएर हाकिमको कामबाट चित्त नबुझेर विरोध गर्न मन लाग्दा लाग्दै पनि बाध्यतावस मौनता साँधेर बसेको निरीह कर्मचारी झैं यातायात प्रतिक्षालयको खम्बामा अढेस लगाएर चुपचाप उभिइरहेको थिएँ। धेरैबेर कुर्नु परेपछि मेरो धैर्यताको बाँध टुट्यो र बैकल्पिक साधनको खोजीमा अगाडि लम्किएर म आफ्नो घरको लागि पायक पर्ने माइक्रोबस नभेट्टाएको झोँकमा अर्कै रुटको गाडी चढ्न पुगेँ । न्वारनदेखिको बल निकालेर भीडलाई छिचोल्दै जेनतेन एउटा सिट कब्जा गरेँ सुकुम्बासीले यत्रो ठूलो पृथ्वीमा सानो टुक्रा जग्गा कब्जा गरेझैं मलाई केक्केन गरेँ भने जस्तो भयो। त्यसपछि छोटो तर टिठ्लाग्दो यात्राको थालनी भयो मेरो।
थचक्क बसेको मात्र के थिएँ। मेरो शरीरमा चारैतिरबाट स्पर्ष हुन थाल्यो । मलाई भने कसैले छोएको पटक्कै मन नपर्ने अरु भने आफ्नो शरीर चारैतिर छोडेर बस्दा आनन्दित भई अरुलाई पर्ने असुविधालाई खयालै नगर्ने । आ–आफ्नो ठाउँमा सजिलो गरी बसौं है भनेर सार्बजनिक यातायातमा भन्नु परेको छ मैले प्रायः धेरैचोटी तर कसैले मेरो संवेदनशिल भावना बुझेर आफ्नो शरीरको अंग मेरो शरीरसँग नछुनेगरी बस्दथे भने कोही चाहिँ म प्रति आक्रोशित हुँदै ट्याक्सी चढ्नु नि त्यस्तो मान्छेले भनेर मलाई सार्बजनिक गाडीलाई निलुँ कि ओकलुँ झै बनाउँथे । मलाई पनि त्यस्तो भन्दा रिसले तिमीले सिकाउनु पर्ने कुरा हैन त्यो सक्ने भए चढिहाल्थेँ नि ट्याक्सी भनेर भएको कुरा भन्न त मन लाग्थ्यो तर के गर्ने त्यसो भन्ने वित्तिकै फेरी त्यसले गरीब रहेछ भनेर हेपीहाल्थ्यो ।
त्यसैले चुप लागेर नसुने झैं गरी बस्थेँ म त्यस्तो परिस्थितिमा । सायद मेरो आर्थिक हैसियत उसलाई थाहा भएकोले मेरो अरु विकल्प छैन भनेर पो त्यसो भनेको हो कि ? त्यो चाहिँ मलाई थाहा छैन । मलाई लाग्छ मेरो दयनिय आर्थिक हालतका कारण सायद मैले त्यस्तो सोचेको मात्र होला ? आफ्नो वास्तविकताको कारण अनुमान गर्ने मानवीय स्वभावको कुण्ठा पालेर । तर सार्बजनिक यातायातमा यात्रा गर्नुको मज्जा नीजि कार वा मोटरसाइकलमा भन्दा धेरै हुन्छ । विविध मान्छेहरुको मानसिकतासँग ठोक्किनु पर्ने भएकोले। अब म तिनै मान्छेहरुका मिठा र तिता घटनाहरु समेटेर मेरो छोटो यात्रामा मैले भेट्टाएको गहिरो कथाहरु नबनाइएको रोमाण्टिक चलचित्र जस्तै गरी क्रमशः पस्किन्छु। म सँगै सबैभन्दा पछाडि बसेका यौन तृष्णाका कारण भर्खरै मौनतामा परिचित भएका युगल जोडीको कामुक मौन प्रेमको दृष्य अघि सारेर। वास्तवमा सँगै बस्नुअघि उनीहरु एक अर्कालाई चिन्दैनथे भन्ने कुरा उनीहरुको हाउभाउबाट सजिलै बुझ्न सकिन्थ्यो । चलचित्रको शुरुवातको दृष्यमा कहिल्यै नभेटिएका नायक र नायिका जस्तै तर सँगै बस्ने बित्तिकै विचराहरुलाई यौवनको उन्मादले छोएछ। केटा हेर्दा भर्खरकै छ। केटी झन भर्खरकी। दुबैजना स्वर्ग जाने बाटो भेट्टाए झै गरी एक अर्कामा भुलेको तथ्यलाई तिनीहरुका आँखाले भनिरहेको थियो मौन भाषाको माध्यमबाट ।
यौन मनोविज्ञान वास्तवमा संसारका हरेक मानिसका लागि एउटा गहकिलो अध्ययनको विषय भएको कुरालाई सिगमण्ड फ्राइडले त्यसै हचुवामा भनेका थिएनन् । संसारका हरेक मान्छेले यौन चाहनालाई चाहेर पनि पन्छाउँन सक्दैन भन्ने कटु सत्यलाई म मनन मात्रै के गर्दै थिएँ। केटाले आफ्नो औंलाले विस्तारै केटीको पाखुरा सुम्सुमायो केटीले कुनै अबरोध गरिन अनि विस्तार केटाले आफ्नो तिघ्र्राले केटीको तिघ्रा छोयो अनि आफ्नो हात केटीको तिघ्रामाथि राख्यो म त लाजले र डरले पनि केटीले मन हुँदा हुँदै पनि सामान्य यौन गतिविधि गर्न दिए पनि अति चाहिँ गर्न दिन्न होली भन्ठानेर अब चप्पल भेट्टाउँने भयो त्यो यौन पिपाषक छुल्याहा केटाले भन्ठानेको त गर्मीले त्यो केटीलाई पनि अनियन्त्रित बनाईसकेको पो रहेछ ।
यस्तो अवसरको फाइदा उठाउँदै केटाले आफ्नो हात विस्तारै केटीको संवेदनशील अंगमा स्पर्ष गराउँदै म तिर हेर्यो सायद उसलाई डर थियो भनौं अथवा लाज मैले हेरि पो रहेको छ कि आफूतिर भनेर । म पनि कवावमा हड्डी बनेर रमाउँन नचाहने तर आफू कवावको हड्डी भएको थाहै नदिइ रमाउँन चाहिँ चाहने यौन मनोविज्ञानको उपल्लो तहको विद्यार्थी न ठहरिएँ अरुको यौन क्रियाकलापमा थाहा नदिइ चासो राख्ने मान्छे । त्यसैले नजर दौडाईरहेँ उनीहरुमाथि उनीहरुले थाहा नपाउँने गरी त्यसपछि त उनीहरु दुबैजना “हम तुम एक कमरे मेँ बन्द हो और चाबी खो जाए” भन्ने हिन्दी लोकप्रिय चलचित्रको हिट गीतले भन्न र गर्न खोजेको क्रियाकलापमा झन बढी सक्रिय भए अंग–अंग जोडेर । त्यसपछि त्यो लघु कथा टुङिगयो । गाडीबाट उत्रिएर उनीहरुले के गरे मैले चाल नपाएपछि।
मेरो आइफोन खै ? अगाडिबाट एउटा युवतीको गाडी नै थर्किने गरी आवाज आयो। आफ्नो प्रेमीलाई भन्दा आइफोनलाई माया गरेझैं सुनिने त्यो आवाजले सबैको ध्यान आकृष्ट गर्यो चलचित्रको क्लाइमेक्समा झैं । भर्खर ब्वाइफ्रेण्डले उपहार दिएको आइफोन पाकेटमारी भएछ विचरीको । हठात् अरुको मोवाइलबाट आफ्नो आइफोनमा फोन गर्न भ्याइन् तिनले मेरो आइफोन स्वीचअफ गरेछ मोरोले भन्दै अलापविलाप गरेर गाडीबाट उत्रिएर हामीसँग छुटेपछि सायद आफ्नो प्रेमीलाई पनि उनले हामी चढेको गाडीलाई झैँ छोडिन् होला ? उनीसँगै आएको अर्कै केटाले तुरुन्तै हाम्रै अगाडि उसको पहिलेको भन्दा राम्रो आइफोन दिँदै नआत्तिउ म यो आइफोन तिमीलाई दिन्छु भनेपछि।
त्यसपछि झ्वाट्ट मेरो आँखा अगाडिको सिटमा पर्यो जहाँ केही वर्ष अगाडिदेखि परिचित प्रेमीहरु लडिरहेका थिए एक आपसमा। आफूलाई धोका दिएको आरोप प्रत्यारोप लगाएर मलाई ति दुबै फ्रड र फेक जस्तो लाग्यो त्यसैले मैले आफ्नो नजर एउटा भर्खरको १६ वर्षकी झैँ देखिने युवतीमा अडाएँ उनी भने फोनमा अब्रोड जाने चाहना नभए जस्तो गरी आफ्नो ब्वाइफ्रेण्डलाई नेपालमै रमाइलो छ भन्ने आशयबाट अभिप्रेरित हुँदै यहिँ बसौं न भन्ने आग्रह गरिरहेकी थिइन्। उतापट्टि केटातर्फबाट आएको आवाज मैले सुन्न नपाएकोले त्यो कथालाई पनि मैले त्यही टुङ्ग्याएर दायाँपट्टि आफ्नो नजर तेस्र्याएँ। त्यहाँ पनि एउटा युगल जोडी प्रेमको एउटा ठूलो जालमा फसेर उस्तै परे ज्यानै दिने वाचा गरेको देखेर म त अरु प्रेमी के प्रेमी यस्तो पो प्रेमी भन्दै मनमनै यदि आफू त्यो कथाको पात्र हुन पाएको भए भन्दै कल्पनामा गदगद मात्र के भएको थिएँ तिनीहरुलाई गाडीबाट उत्रने वित्तिकै तिनीहरुको आ–आफ्नो लोग्ने स्वास्नीले देखेर खेद्दै गरेको दृष्यले त ति अघिका मेरा महान पात्रहरुलाई तुरुन्तै निच बनाइदियो। त्यसपछि मैले नियालेका र मेरा नजरमा नपरेका प्राय सबै यात्रुहरु गाडीबाट उत्रेर आ–आफ्नो गन्तव्यतिर लागेपछि वास्तविकतामा आधारित नबनाइएको चलचित्रको मध्यान्तर भए जस्तो लाग्यो मलाई।
मानिसहरु पातलिएपछि अधबैंशे अधबैंशे देखिने एउटा जोडीमा अन्तिममा आँखा पुग्यो मेरो उनीहरु पनि एक अर्काको प्रेममा पागल झैं भएर विवाह बन्धनमा बाँधिएका रहेछन्। तर अहिले उनीहरुको गहिरो प्रेम सतहमा आएको रहेछ असलियत बोकेर। त्यो जोडीको एक आपसको कुरा सुन्दा कुनै न्यायालयमा पारपाचुकेको लागि तिनीहरुले निवेदन दिए झैं लाग्यो मलाई मिल्ने भए एकछिन् न्यायाधीश बनेर निर्णय नै गरि दिन्थेँ तर अर्काको मामलामा बोल्दा कुटाई खाइएला जस्तो लागेर चुपचाप उनीहरुको सम्वाद सुनिरहेको थिएँ म। कुरा के रहेछ भने शुरुशुरुमा उनीहरुको प्रेम सम्बन्ध हुँदा आवश्यकता परे ज्यानै दिने वाचा बन्धनमा बाँधिएका रहेछन् उनीहरु। अहिले श्रीमति चाहिँको एउटा मृगौलाले काम नगरेपछि श्रीमानले आफ्नो श्रीमतिलाई मृगौला दान गर्न आनाकानी गरेछ। अनि पो रणसंग्राम भएको रहेछ।
वास्तवमा प्रेमको अर्थ नबुझि भावावेशमा, कामबासनाको जोशमा र स्वार्थमा मात्र केन्द्रित रहेर गरिने प्रेमले वास्तविक प्रेमको अर्थ कसैलाई बोध गराउँदैन अपवाद बाहेक मैले यात्रा गरेको गाडीको चारपाङ्ग्रामाथि कुदेको वास्तविक घटनाहरुमा आधारित नबनाइएको चलचित्रको कथाहरु जस्तै ।
असली प्रेम स्वार्थरहित हुने भएकोले त्यहाँ धनको र रुपको महत्व नभए झैँ यौन चाहना हुँदै नहुँने त होइन तर नहुँदा पनि त्यहाँ प्रेमको अस्तित्व मरेको हुँदैन । यौनक्रिडा अवधिभर त सबैले बेश्यासँग पनि उस्तै परे ज्यानै दिन तयार भए झैँ गरी व्यवहार गरिरहेका हुन्छन् यौन आनन्दको पराकाष्ठालाई नाघेर । वास्तवमा यहि प्रेमको तत्वज्ञानलाई नबुझेर नै होला एक आपसमा तिम्रो लागि मर्छु भन्नेहरुले अब म तिमीलाई मार्छु भन्न थालेका।
कुनै एउटा आर्ट फिल्मको यथार्थतामा आधारित अन्तिम दृष्य झैँ म यो कुरालाई मनन गरेर सार्बजनिक गाडीबाट उत्रिँदै गर्दा निकै वेर घोत्लिएँ दुनियाँको सबैभन्दा ठूलो लभ गुरुलाई सम्झेर।
- नामी साप्ताहिकबाट