काठमाडौ । नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता आईतबार हुने भएको छ ।
प्रतियोगितामा ८४ महिला तथा १३७ पुरुष गरि कुल २२१ खेलाडीहरुले ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्न जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ वर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका हुन्।
मित्र राष्ट्र चिनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगिताबाट खेलाडीहरुले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा ४ पुरुष र ४ महिला खेलाडीहरुको छनोट हुने समेत अध्यक्ष बज्राचार्यले बताए ।
यसै प्रतियोगितामा दक्षिण एशियाको सर्वोत्कृष्ट प्रतियोगिता दक्षिण एशियाली खेलकुदको काठमाडौमा सम्पन्न १३औं संस्करणमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक प्राप्त गर्दै ईतिहास रच्दै राष्ट्रको गौरव राख्न सफल खेलाडी गौरिका सिंहलाई नगद १ लाख सहित सम्मान गरिने छ ।
यस्तै सो प्रतियोगितामा २ रजत र ३ कास्य प्राप्त गर्ने डुवाना लामालाई ५० हजार, ४ कास्यपदक प्राप्त गर्ने टिशा शाक्य र कास्य पदक प्राप्त गर्ने ३ कास्य पदक प्राप्त गर्ने अनुशिया तण्डुकारलाई नगद २५ हजारले सम्मान गर्ने अध्यक्ष बज्राचार्यले बताए।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ १९:५३