नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई सुक्ष्म ढंगले बिश्लेषण गर्ने हो भने नेपाली राजनीति अनुशासनहिन ढंगले तिब्रत्तर रुपमा विकाश भइरहेको छ । आरोप प्रत्यारोप र क्रिया प्रतिक्रिया बाहेक सूचना तथा सञ्चार क्षेत्रमा कुनै नौलो विषय पढ्न, पाठकबृन्दले पाएका छैनन् । संयमता, धैर्यता र शिष्टतामा यस्तो खडेरी लाग्छ भन्ने सायद कल्पना भन्दा बाहिरको कुरा थियो ।
नेपाली समाज, नेपाली राजनीतिले यो कस्तो दुर्वल बाटो अबलम्बन गर्यो यो बडो चिन्ताको विषय हो। आज जुन अबस्था हामी नेपाली जनताले भोगीरहेका छौं के यसैका लागि यति भिमकाय क्रान्ति गर्नु परेको थियो। हामी जनता बिचमै संदेह गर्ने एउटा विकृत नव अवसर खडा भएको छ । यी विकृत र अशोभनिय प्रवृतिको नेपाली समाजले चिरफार गर्नै पर्दछ ।
हुन त नेतृत्वमा नैतिकता नभएपछि जनताको के नै लाग्छ र ? शासक सेवामा भन्दा शोषणमा मस्तमगन भएपछि जनता शासित हुन्छन् र निरीह हुन्छन् । जनता शासित र निरीह हुने पद्धतिलाई लोकतन्त्र, गणतन्त्र भन्दै तेतृत्वबाट भजिरहन्छ र जनताका सपनाहरु तुहाईरहिन्छ । जनता शासकको बर्बरता सहि रहन्छन्। यो धरातलिय यर्थाथलाई आत्मसाथ दिने कोहि मनुवाको जन्म हुन सक्दैन । लि क्वान यु, मोहमद महाथिर, बिस्मार्क, सन यात सेनको नाम लिएर नथाकेका हामी हर्क गुरुङ, पृथ्वीनारायण शाह, चन्द्र शम्सेर, म.बि.बि शाह, सन्दुक रुईत, महाविर पुन नाम लिन पनि हिच्किचाउँछाै हामी ।
बुद्धको देशमा जन्मिएका मात्र हौ, बुद्धको बखान गाएर बुद्धि बिलासिता बेचबिखन गर्न खोलिएका १००औं राजनीतिक दुकानहरुमा आश्रित छौं। बिसंगतिको बिरोध गरियो भने साहुजीहरु रिसाउँछन । सत्य मेव जयेते यो त प्रौढ चिन्तन हो आधुनिकतामा त शक्ति मेव जयते हुन्छ ।
संसद, सिंहदरबार, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, पार्टी कार्यालय, प्रेस क्लब जता हे¥यो झगडा नै झगडा, आरोप प्रत्यारोप र गाली गलोजमा ब्यस्त छन् नेतागणहरु । एकले अर्कालाई नंग्याई हाल्नु पर्ने। समाजको विवेकले के भन्लान भन्ने डर कर नै छैन राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले के भन्लान भन्ने पनि छैन। दिनहुँ रत्यौली चलिरहन्छ संसदमा ।
जनताका अधिकारका विषयमा बहस नै हुदैन, आधारभुत आवश्यकता र जीवनयापनका लागि नीति निर्माण, ऐन कानुनको निर्माणमा संवेदनशिलता नै छैन । बिग्रिएको अर्थतन्त्र कसरी सुदृढ गर्ने, अस्थिर राजनीतिलाई कसरी स्थिर बनाउने । सार्मथ्ययुक्त युवा युवतीलाई रोजगारी र उत्पादनको मुलधारमा कसरी परिचालन गर्ने कुनै समिक्षा छैन।
देशमा बढिरहेको बाह्य हस्तक्षेप, विदेशीले श्रृजना गर्न खोजेका नव दवाव, हाम्रो भूराजनीति र भूसामरिकता, विश्व राजनीतिमा देखिएका नयाँ चुनौतीहरुको बारेमा एकिकृत भएर छलफल गर्नु पर्नेमा आरोप प्रत्यारोपमै सिमित छ हाम्रो राजनीति। यो अवस्थामा नयाँ नेपाल परिकल्पनाका हाम्रा उदेश्य, संमृद्ध नेपाल सुखी नेपालीका लक्ष्यहरु कसरी हासिल होलान् ? आर्थिक संकट र बौद्धिक ध्रुवीकरणका कारण यसले जन्माएको वेरोजगारीता, व्यवसाय र उत्पादनशिलतामा ह्रास, बजार महङ्गी, नेपाली रुपियाँको कमजोर विनियमता, डलर सञ्चितिकरणको अभाव जस्ता जटिलताले नेपाली अर्थतन्त्रमा समेत ठूलो असर पारेको छ ।
यस्तो गम्भिर परिस्थितिमा नेतृत्व र राजनीतिक दलले रमिता देखाईरहेका छन् । राष्ट्रिय एजेण्डाका विषयमा सरकार पक्ष न त प्रतिपक्ष जिम्मेवार देखिन्छ । जनता ढाँट्ने र झारो टार्ने काम बाहेक अरु देखिदैन। मिनेटभरमा मन्त्री फेरिन्छन, सरकार फेरिन्छ यस्तो पदिय मोहताले समाज कसरी बदलिन सक्छ र ? त्यसकारण नेतृत्वलाई सुसंस्कृत र सभ्य बनाउनु नागरिक दायित्व पनि हो। नागरिक स्वयमले पनि दवाव सृजना गर्नु पर्दछ। केही हुदैन भन्ने लघुतावास पाल्नु भन्दा पनि हामीले राज्यलाई के योगदान गर्यौ भन्ने उत्तर खोज्नुपर्दछ ।
थोपा थोपा मिलेर समुन्द्र बने जस्तै विभाजित भएका हाम्रा विचारलाई एकत्वको मालामा गाँसेर राष्ट्र निर्माणको अभियानमा डोर्याउन वान्छनिय र आवश्यक छ । अवाञ्छित महोत्वकांक्षा, पदिय लुछाचुँडी, अविवेकपूर्ण निर्णय भन्दा माथि उठेर सर्बहिताय र सर्वसुखाय भावना जागृत गर्न सक्यौं भने राज्यको जय हुन सक्दछ। प्राकृतिक श्रोत साधन र विविधता युक्त संस्कृतिले भरपुर यो हिमाली आँगनमा भोटका कथा बिर्सेर, अरबका मरुभूमि बिर्सायर उत्पादकत्वको बढ्वाका लागि पौरखी युवा युवतीलाई सृजनशिल कार्यमा प्रोत्साहन गर्नु पर्दछ।
अतिथो देव भव भन्ने हाम्रो संस्कार आजकल देवहरुकै दासत्वमा समाहित भएकोे छ। हाम्रै आचरण र व्यवहारले दक्षिणको छिमेकी खुश छैन। उत्तरको छिमेकीको पनि हालत उस्तै छ । त्यो भन्दा विश्व पनि खुशी छैन। हामी परराष्ट्र नीति र बैदेशिक मामिलामा वा असंलग्नता र तटस्थीकरणमा कहाँनिर चुक्यौं । समिक्षा गर्नै पर्दछ ।
अन्त्यमा तमाम समस्याका चाङहरु थोपर्दै जाने वा समाधानका उपाय खोज्दै जाने यो निर्णय भने नेतृत्वकै हातमा छ। नेतृत्व र हाम्रो राजनीति कति सुदृढ हुन सक्दछ । हामी कुन मार्गमा हिड्ने यसको निर्णय पनि नेतृत्वले लिनुपर्दछ। महान दार्शनिक हेगलले भनेका छन् बाद–प्रतिवादबाटै संवाद हुन सक्छ। हामी संवादका लागि कति तयार छौं। नागरिकका जनगुनासो, राय सुझावप्रति कति चिन्तित छौ। नेतृत्वमा सुधार गर्ने कि नगर्ने अथवा नेताले आफ्नो चरित्र बदल्ने कि नबदल्ने यसको नागरिक तहबाटै निरुपण हुनुपर्दछ। तसर्थ यो संवेदनशिलता विनाको राजनीतिलाई राज्यको अनुशासनको दायरामा ल्याउन सबै एकजुट हुन जरुरी छ ।