काठमाडौ । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले पहिलो दिन दोहोरो स्वर्ण हात पार्न सफल भएका छन्।
नासिरले २०० मिटर ईडिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टायलमा तथा निभाले ५० मिटर ब्याक स्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेको हो ।
उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर ईन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुलातर्फ विजयी हात पार्न सफल भएकी छन् ।
लामाले उक्त दुरी २ मिनट ३७.१७ सेकेण्डका साथ स्वर्ण जितेकी थिईन् भने सो स्पर्धामा निभा मास्के २ मिनट ४०.२१ सेकेण्डका साथ दोश्रो र सियरा सुभाङ्गी बजाज ३ मिनट १.७४ सेकेण्डका साथ तेश्रो रहेका छन्।
पुरुषतर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण जिते । उनले सो दुरी २ मिनट १८.५९ सेकेण्डमा पूरा गरे भने सेरेन सिंह २ मिनट २९.८९ सेकेण्डमा पूरा गर्दै दोश्रो र २ मिनट ३४.४१ सेकेण्डका साथ विकास कुमाल तेश्रोे भएका छन् ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेण्डमा दुरी पूरा गरेकी हुन् भने दोश्रो स्थानमा ३७.९६ सेकेण्डका साथ रोयल प्रजापती र ३८.११ सेकेण्डका साथ आर्या महर्जन तेश्रो भईन् ।
पुरुषतर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले ३१.६१ सेकेण्डका साथ स्वर्ण पदक हात पारेका छन् । दोश्रो स्थानमा अनुभव सुब्बा रहेका छन् । उनले ३२.४२ सेकेण्डमा दुरी पूरा गरे भने ३३.९८ सेकेण्डका साथ गौरभ लामा तेश्रो भएका छन् ।
महिला १०० मिटर फ्रि स्टायलमा डुवाना लामालाई पछाडी पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दुरी १ मिनट २.८७ सेकेण्डमा पूरा गरे ।
डुवानाको समय १ मिनट ३.७८ सेकेण्डमा पूरा गरिन् । तेश्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनट ५.१७ सेकेण्डमा दुरी पूरा गरेकी थिइन् ।
पुरुषतर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेण्डका साथ स्वर्ण हात पारेका छन् । दोश्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेण्डमा र तेश्रो स्थानमा रहेका सुविग्यमान तुलाधरले ५८.३७ सेकेण्डमा दुरी पूरा गरेका थिए ।
बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राजश्रेष्ठ, सचिव रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ २०:१४