काठमाडौ । नेपाल पौडी संघको आयोजनामा भएको १०औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ किर्तिमान राख्न सफल भएका छन् ।
नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेञ्जिनले हिट चरणमा कायम गरेको १ मिनट ५.८७ सेकेण्डको किर्तिमानलाई भङ्ग गर्दै १ मिनट ४.४६ सेकेण्डका साथ नयाँ किर्तिमान कायम गरेका हो ।
नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेण्डको रेकर्ड भङ्ग गर्दै अर्को ५९.६० को नयाँ किर्तिमान कायम गरेका छन् ।
यस्तै डुवानाले आफैले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेण्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ किर्तिमान कायम गरेकी हुन्।
यसअघि हिट चरणमा यस्तै तेञ्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९औं एनएसए कप २०१९ मा राखेको १ मिनट ८.२५ सेकेण्डको किर्तिमानमा सुधार गर्दै १ मिनट ५.८७ सेकेण्डको नयाँ किर्तिमान कायम गरेका हुन् ।
यस विधामा नासिरले पनि १ मिनट ५.९९ सेकेण्डका साथ किर्तिमान भङ्ग गरेता पनि अन्तिम किर्तिमान तेञ्जिनको नाममा नै रह्यो ।
डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेण्डको किर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेण्डका नयाँ किर्तिमान कायम गरेकी हुन् ।
निसर्ग बाटिका स्कूल टिम च्याम्पियन
निसर्ग बाटिका स्कूल १०औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ।
निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो।
त्यस्तै, स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यकासाथ ९६ अंककासाथ दोश्रो स्थानमा रह्यो भने तेश्रो स्थानमा रहेको लिटल एञ्जेल स्कूलले १ स्वर्ण ३ रजत र ३ कास्यकासाथ २२ अंक प्राप्त गरेका छन् ।
गौरिका लगायत खेलाडी सम्मानित
नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एशियाकै उच्च प्रतियोगिता १३ र्औ दक्षिण एशियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव बिश्व सामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरु गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको छ ।
गौरिकालाई १ लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो।
गौरिकाले ४ स्वर्ण २ रजत र ३ कास्य, डुवानाले २ रजत र ३ कास्य, टिशाले ४ कास्य र अनुशियाले ३ कास्य पदक हात पारेका थिए।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथि माननिय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पुरस्कार वितरण गरेका थिए।