काठमाडौ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला दिनमा उल्लेख्य सुधार देखिएको छ।
वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव पनि सकारात्मक परेको हो । गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन रु ९४ अर्बले बढेको पाइएको छ।
नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंककोे कूल निक्षेप रु ४४ खर्ब रहेकामा असार २४ गतेसम्म रु ४४ खर्ब ९४ अर्ब पुगेको हो ।
पछिल्लो समय निरन्तररुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ ।
सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप सङ्कलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रोे साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रहेको थियो।
असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाकोे तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो ।
गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।
एक सातामा वाणिज्य बैंककोे कर्जामा १० अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो ।
वाणिज्य बैंककोे कर्जा–निक्षेप अनुपात ९सिडी रेसियो० पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंककोे औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ २३:१३