काठमाडौ । उपत्यकामा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ३ हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा २ हजार ८२ नमूनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र १ हजार ९३ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका हुन् ।
यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ । आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ । होम आइसोलेनमा ९८४ र संस्थागत आइसोलेनमा २१ छन् । सोमध्ये १२ जना आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बुधबार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
अहिले विश्वभर कोरोना भाइरसको ‘बिए-५’ भेरियन्ट फैलिएको जनाउँदै उनले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ २०:२२