काठमाडौ । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्याण्डलाई पराजित गरेको छ ।
गए राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको हो । नेपालले स्कटल्याण्डलाई पहिलो पटक हराएको हो ।
स्कटल्याण्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। स्कटल्याण्डले ब्याटिङ गर्ने क्रममा ४२ दशमव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनायो ।
एक सय ४५ रनको विजयी लक्ष्य नेपालले २५ दशमलव १ ओभरमा ५ विकेट गुमाएर भेट्टाएका हुन्। नेपालको जीतमा आसिफ शेखको ७१ रन सामेल थियो । उनले ६२ बल खेल्दै एक छक्का र १० चौका प्रहार गरेका थिए ।
यस्तै कुशल भुर्तेलले २७ रन, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा आरिफ शेखले एक रन बनाए भने रोहितकुमार पौडेल ३४ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ स्कटल्याण्डका गाभिन मेनले तीन तथा एड्रिन निल र रिची बेरिङटनले एक/एक विकेट लिएका थिए।
त्यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा स्कटल्याण्डका लागि गाभिन मेनले अविजित ६४ रन बनाए भने मार्क वाटले १७, साफ्यान शारिफले १६ र कलुम म्याकलोडले १३ रनको योगदान दिएका थिए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहमद आदील आलमले ३/३, कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
यस सिरिजमा नेपालको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्डको भने यो पहिलो हार हो ।
पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो । जितसँगै नेपालले १८ खेलमा १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
बाइस खेल खेलेको स्कटल्याण्ड ३० अङ्कका साथ दोस्रो स्थानमा कायमै छ । सिरिजअन्तर्गत अब नेपालले तेस्रो खेल शनिबार नामिबियासँग खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ०८:३३