सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले सडक मर्मत तथा सरसफाइलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनएको छ ।
वर्षातको समयमा सडक पुर्ने तथा भत्कने समस्या अत्याधिक हुनेभएपछि जेसिबी मेसिन र जनप्रतिनिधि तयारी अवस्थामा रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिएको हो ।
गाउँपालिकाभित्र संचालित सडकको अवस्थाका बारेमा जानकारी लिनुका साथै तत्काल गुनासो नआउने गरि सबै जनप्रतिनिधिलाई काम गर्न पालिका अध्यक्ष असिम राईले निर्देशन दिएको प्रवक्ता कार्कीले बताए।
निरन्तरको वर्षातको कारण अवरुद्ध बनेको नेले-मुक्ली सडक खुलेको छ भने मुक्ली-रन्देपु सडक खुलाउने काम भइरहेको वडा-६ का वडा अध्यक्ष महेन्द्रदिप राईले जानकारी दिएका हुन् ।
लोखिम-जुबु क्षेत्रको सडक समेत ठाउँ-ठाँउमा बिग्रदा आवत-जावतमा समस्या भएको पालिकाले जनाएको छ । यस्तै देउसा-मुक्ली सडक खण्ड पनि अवरुद्ध भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
मुक्ली-रन्देपु सडक खुलाउने काम सक्ने बित्तिकै उक्त सडक सफा गरि सुचारू गरिने प्रवक्ता कार्कीको भनाइ छ ।
उता नेले-झरेनी-रोक्ती-बुडिडाडा-दिप्लिघाट खण्डको अवस्था भने सामान्य रहेको छ । यो सिजनमा बाढी तथा पहिरोको जोखिम उच्च भएकाले सचेत रहन पालिकाबासीलाई आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष राईले जोखिमयुक्त क्षेत्रमा बसोबास तथा हिडडुल गर्दा सावधानी अपनाउनुका साथै कुनै समस्या भएमा तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेका छन् ।
प्राकृतिक प्रकोपबाट बच्न व्यक्ति स्वयम् सचेत हुनुको विकल्प नभएको अध्यक्ष राई को भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ ११:२४