काठमाडौ । ‘द भ्वाइस अफ नेपाल सिजन-३’ को चौथो वरियताका प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ साङ्गीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेको छ ।
प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने विक्रम राईको सङ्गीत रहेको ‘माया जाल’ देवेश राईले यस गीतलाई सङ्गीत संयोजन गरेको हो ।
लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको ‘माया जाल’ म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रूपमा समेत प्रस्तुत भएको छ ।
‘माया त गर्छु भन्छ्यौ, खै कस्तो छ तिम्रो चाल पो’, ‘हेर्दा त परी जस्ती छ्यौ, थाहा छैन मनकी कस्ती छ्यौ’, ‘भेटेको धेरै भाको छैन, पिरती हामीले लाको छैन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
‘माया जाल’ भिडियोमा मानुषी तामाङ र गायक राईबीच प्रेम र रोमान्सको अभिनय समेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डीओपी र विशाल थापाको छायाङ्कन रहेको छ ।
गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा ‘माया जाल’ भिडियो तयार पारिएको हो । भिडियो गायक राईको युट्युब च्यानल ‘ज्वाला राई’मार्फत सार्वजनिक भएको हो ।
यसअघि गायक राईको स्वरमा ‘शीतल शीतल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फूल’ लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १९:१९