काठमाडौ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ ।
एक विवरणअनुसार एक वर्षको अवधिमा रुपैयाँ सवा तीन खर्ब बढी नेपाली बाहिरिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको गत आव २०७८/७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट ३ खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।
तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।
रुपैयाँ ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड ९ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ ।
एक वर्षको अवधिमा १ खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, ४८ अर्बको सुन–चाँदी र ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ । एक वर्षको अवधिमा ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, ७ अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा ५ अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ १४:२६