सोलुखुम्बू । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताएको छ ।
गाउँपालिकाको वडा-८ बुडिडाँडामा लक्ष्मी बैंकको शाखा रहित सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताएको हो ।

सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरि बैंकिङ प्रणाली लागू गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा-७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताएका हुन् ।
यस्तै, जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रमा नै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाई छ।
बृद्धबृद्धा तथा अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्दा असहजता भएसँगै महङ्गो समेत पर्ने भएकाले स्थानिय सरकारले सहजीकरण गरिदिएको गाउँपालिकाले जनाएको छ ।
लक्ष्मी बैंक मुक्लिबाट प्राप्त गर्ने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्ने सकिने बैंकका शाखा प्रबन्धक प्रेम बहादुर बस्नेतले बताए।

अब देउसाका नागरिकहरु खाता खोल्न, सिमित रकम राख्न तथा पठाउन एवम् झिक्न सकिने शाखा प्रबन्धक बस्नेतको भनाई छ ।
स्थानीय सरकारले हरेक नागरिकको समस्यालाई मध्यनजर राख्दै भूगोल अनुसार टोलटोलमा नै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइने वडा-७ का वडा अध्यक्ष भोजराज कार्कीले बताए ।
गाउँपालिका प्रवक्ता समेत रहेका कार्कीले वडा तहमा देखिएको समस्या समाधान गर्ने दायित्व वडा सरकारको भएकाले सोही अनुसार जिम्मेवारी बहन गरेको अवस्थामा नागरिकलाई सहजता मिल्ने उनको विश्वास छ ।
देउसामा सञ्चालित लक्ष्मी बैंकको उक्त शाखा रहित सेवाका सञ्चालक चुडामणि केसीले प्रभावकारी सेवा प्रवाहमा आपूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ २०:५४