काठमाडाै । अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको छ ।
यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ । काठमाडौँ उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगित गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिएकाे हाे ।
पुरुषोत्तम मास समेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुशी हुने धार्मिक विश्वास छ। एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोनाका कारण यस वर्ष इन्द्रजात्रा समेत क्षमापूजा गरेर मनाइएको थियो भने रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी भएकाे सरोकार निकायले गरेका छन् ।
अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे। मच्छेनारायण मेला स्थगन गरिएपनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ ।
भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ। मत्स्यनारायणका रूपमा भगवानले पहिलो अवतार लिएको स्थान भएपनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७ ०७:०४