काठमाडौ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ ।
मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिएको हो ।
“प्रदेश-१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ”, उनले भने। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको वताएको छ ।
उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।
रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९ १०:५४