मै खाउँ मै लाउँ सुख सयल मोज म गरुँ, मै वाचुँ मै नाचुँ अरु सब मरुन दुर्वलहरु लेखनाथ पौडयालको यो कविताले आजको लोकतान्त्रिक भनिएको व्यबस्थाप्रति यथार्थपरक रुपमा ब्यङ्ग्य गरेको छ ।
लेखनाथ पौड्यालको यो कविताले लोकतन्त्रमाथि रजाइँ गरिरहेकाहरुप्रति धारिलो छुरा प्रहार गरिरहेको छ । तर दुर्वलहरुको घैँटोमा घाम चाहिँ लागेको छैन । लागोस् पनि कसरी यहाँ म वाद हावी छ । नेतृत्वले सुन्दैन, न त देख्छ, न त बोल्छ । यो परोपकारी भाव र दृष्टिरहित पद्धति नै निरङ्कुस लोकतन्त्र कहलिएको छ ।
लोक भनेको जनतातन्त्र भनेको विधि वा प्रक्रिया अर्थात विधि पद्धतीद्वारा लोकले शासन गरिने पद्धति नै लोकतन्त्र हो। सामान्य अर्थमा लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् र जनता मालिक हुन्छन्, शासक क्रियाको प्रतिफलमुखी कर्ता मात्र हुन्छ । तर यहाँ विलकुलै उल्टो छ । लोकतन्त्र ठेक्कामा चल्छ । सिमित राजनीतिक नेताको ठेकेदारी प्रथाद्वारा सञ्चालित छ लोकतन्त्र ।
प्रेस स्वतन्त्रता वा वाक स्वतन्त्रता, वालिक मताधिकार, निर्वाचन प्रणाली, अन्तर्राष्ट्रिय मानव अधिकार, राजनीतिक स्वतन्त्रता जस्ता मानवमाथि लोकतन्त्रले सधै निरङ्कुसता मात्र लादिरहयो ।
प्रजातन्त्रका हिमायतीहरुलाई यी शब्दावलीले दिलमा च्वास्स पोल्नु स्वभाविक नै हो । वास्तवमा सिद्धान्ततः प्रजातन्त्र, लोकतन्त्रको मूल मर्मलाई बुझ्ने कोशिस नै गरिएन । न त खास प्रकारका प्रजातान्त्रिक पाठशाला निर्माण भए, न त प्रजातन्त्रको औचित्यलाई प्रकाश पार्ने काम भयो । यो त राजनीतिक स्वार्थसिद्धिको विचार मार्ग मात्र बन्न सफल बन्यो ।
मताअधिकारको जनताद्वारा प्रयोग त भयो तर मतहरु खरिद बिक्रिका साधन बने । वाक स्वतन्त्रता जनताले प्राप्त त गरे तर उच्छृङखलता, उदण्डता, अराजकता र अश्लिलतामा वाक स्वतन्त्रताको प्रयोग भयो । मानव अधिकार दलतन्त्र कै रजगज भित्र अल्मलिरह्यो तर आवाज विहिनहरुको अधिकारको आवाज कहिल्यै बन्न सकेन ।
राजनीतिक स्वतन्त्रता अमुक दलका अमुक पात्रका लागि कमाई खाने धन्दा बन्यो तर जनताको चुल्होमा कहिल्यै रापताप महसुस भएन । सरकारी अड्डा, सरकारी सेवा र संघ संस्थामा काम भन्दा ज्यादा राजनीति सुरु भयो । ट्रेड युनियन राजनीति संरक्षणका मतियार बन्न पुगे श्रमजीवीमाथि दमन सुरु गरियो ।
दुखको कुरा त ट्रेड युनियन र श्रमजीवी भित्र पनि राजनीतिक पद सदस्यता प्राप्तीका आधारमा छनौट हुने प्रक्रिया अघि बढ्यो । सदस्य हुनेले मात्र काम, दाम र माम प्राप्त गरे अरु त सबै चिल्लाराम ।
संबैधानिक अंग, अदालत, प्रहरी, नेपाली सेना, विश्वविधालय सबै क्षेत्र भित्र दलियताको हर्ष पर्व चलिरह्यो । वास्तविक पीडितले कहिले न्याय पाएनन, हुने खानेहरु कै हालीमुहाली चलिरह्यो । कागजी पानामा लोकतन्त्र सर्वोपरी समावेसीमूलक, समन्वयात्मक परक भनिएता पनि व्यवहार मानव सामन्त र नव अवसरबादीका पञ्जामा लोकतन्त्र कैद भयो ।
२००७, २०४६ र २०६२/६३ सालमा प्रजातान्त्रिक, लोकतान्त्रिक क्रान्तिमा रगत, पसिना बगाउने जनताहरुका आला घाउमा लोकतन्त्रले मल्हम लगाउन सकेन । उत्पिडन, निम्नवर्ग, असहाय, अशक्त, अपाङ्ग, दिर्घ रोगी लगायत लक्षितवर्गको जिवनस्तर बृद्धिमा कुनै योगदान लोकतन्त्रले गर्न सकेन ।
लोकतन्त्रले हिंसा र कुसंस्कार आविस्कार गरिरह्यो तर कलमको महत्व कहिले बुझाउन सकेन । जातिबाद, क्षेत्रीयताबाद, नस्लबाद, एकाअधिकारबाद, उपभोगिताबाद, परनिर्भताबाद, दासत्व वाद र सर्वसत्ताबाद भन्दा नौलो विचार हामीले यो सात दशकमा के नै अनुभुति गरयौ र ? महात्मा गान्धीको अंहिसाको मार्ग, नेल्शन मण्डेलाको शान्तिको मार्ग, अब्राहम लिंकनको जनता (ले, लाई, द्वारा) त बस कथनका मिथ्या कुरा न थिए । त्यो आर्दशताको व्याख्यान त चेतना विहीन समाजमा, अभाव र गरिवीले छट्पटिएको समाजमा भोट कब्जाको रणनीतिका लागि अगाडि बढाईएको औजार मात्र न थियो ।
विश्वभर नै लोकतन्त्र कमजोर हुदै गयो । लोकतन्त्रलाई कमाई खाने धन्दा बनाएका शासकहरुले लोकतन्त्रको घाँटी रेट्ने काम गरे । विधिको शासन, कानुनी सर्वोच्ता, शक्ति पृथकीकरणको सिद्धान्त र न्यायिक पुनराअवलोकन जस्ता लोकतन्त्रका सारभुत महिमा शत्तासिन वर्गको अनुकुलिय प्रयोगशालामा सिमित रहयो । द्वन्द र आतंकबाद सिकाउने लोकतन्त्रले शान्ति कहिले सिकाएन । हुँदा खानेको गाँस खोस्यो तर हुने खानेमाथि पालनपोषण गरिरहयो ।
निर्धा र अर्धचेतमाथि बर्बर शासन गरिरहयो । गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्द जस्ता प्रजातान्त्रिक शहिदले के का लागि मृत्युवरण गरे ? टंकप्रसाद आचार्यको प्रजाप्ररिषदको गठन के का लागि थियो ? उत्तर खोज्ने कुनै लोकतान्त्रिक पाठशाला निर्माण भएन । विपी, किसुनजी, गणेशमान जस्ता सरल शौरभी पुरुषको खोजि किन हुन सकेन ? पक्कै पनि त्यो गोरेटो अनुशरण गर्दा ठेट नेपाली भाषामा पाखे भईन्छ कि भन्ने डर नेतृत्वलाई लाग्दो हो ।
राजनीतिलाई सेवाको भावबाट हेर्न सकेको भए, जनताका आधारभुत र मौलिक हकलाई संवद्र्धन गर्न सकेको भए लोकतन्त्र बलियो हुने थियो । शासन गर्नेको निहित र व्यक्तिगत स्वार्थका कारणले लोकतन्त्र निरङ्कुस साबित भयो।
सांसदहरुको झै झगडा, बन्द हड्ताल, बलात्कार, आपराधिक घटनामा बृद्धि, राष्ट्रप्रेमको अभाव यी यावत विषयमा सन्देह हुनै सकेन । बरु सुरा सुन्दरी काण्ड, यौन काण्ड, भ्रष्टाचारकाण्ड नेतृत्वमा मौलाईरहयो ।
हाम्रो नेतृत्वको संसदीय गतिबिधिले विश्वमञ्चमा हाम्रो स्वाभिमानको कुनै मूल्य राखेन । बरु हामीलाई निकम्मा र हुतिहारा सावित गर्यो । प्रत्येक मिनेट, घण्टामा सरकार परिवर्तत हुन्छ, मन्त्री फेरिन्छन् । जति जागाराम रातभर बसे पनि बिहान सुर्योदय हुन्छ भने जस्तै सरकार ढल्ने, मन्त्री फेरिने क्रम निरन्तर चलिरहन्छ यहाँ ।
अस्थिर राजनीति भएको बेला अप्राकृतिक ढंगले सबैका आय आर्जनका दुकान पनि फस्टिने रैछन् । लागुऔषध ओसारपसार, तस्करी, कालाबजारी ,महङ्गी, भ्रष्टाचार, बैदेशिक हस्तक्षेप, आपराधिक घटना आदि इत्यादि । हाम्रो कुभलो हुने शन्धी सम्झौता पनि यस्तै अस्थिर राजनीतिक समयको बेला पास हुँदा रहेछन् ।
चेपुवामा देश पर्दोरहेछ, मर्कामा जनता पर्दा रैछन् । जनताका ओसिला आँखा पुछ्ने कोही हुँदो रहेन छ । अस्पतालको सैयामा होस् वा प्रदेशबाट फर्केका मृत बाकस हुन्, सिटामोल नपाएर होस्वा किड्नी, क्यान्सरले थलिएर होस् । २०४६ पछि त अस्पताल र शिक्षाका व्यबसाय निकै फस्टिए ।
सेवामा आधारित भन्दापनि रुपियाँमा आधारित सेवा बन्न पुग्यो । जनताका गाँस, बास, सुख सयल त्यही बाटै अन्त्य भए । ऋणको भारी बोकेर प्रदेशको यात्रा नेपाली युवाले त्यही दिनदेखि शुरु गरे । शैक्षिक प्रमाण–पत्र खोष्टा ठहरिए ।
अन्त्यमा यो दरिद्रता अर्कोतर्फ द्रव्य भुतता राजनीति कै उपमा थियो । लोकतन्त्र कै उपमा बन्न पुग्यो । अब यी तमाम विकृति लोकतन्त्रले चिर्नु पर्दछ । जनता सर्वोपरी मान्ने लोकतन्त्र स्थापित हुनुपर्दछ । सबैलाई एउटै मालामा उन्ने सियो बन्नु पर्दछ । जनताका आधारभुत आवश्यकता प्रत्याभुत गर्ने संयमी लोकतन्त्र बन्नु पर्दछ ।
विचार र विवेकले लोकतन्त्रको पाठशाला मजबुत हुन सक्छ भन्ने भाव स्थापित गर्नुपर्दछ । समानता र सामुहिकताको बगैँचा निर्माण गर्नुपर्दछ । त्यो बगैँचाभित्र अनुशासन, मर्यादा र चरित्रको नव विरुवा रोप्नु पर्दछ । लोकतन्त्र विचार मात्र होइन यो त जीवन पद्धति हो । मानवजीवन र लोकतन्त्र विच गहिरो सम्बन्ध छ । यसलाई पुरस्कृत तुल्याउनु पर्दछ ।