कुनै अपरेशन गरेपछि पौष्टिक खाना खानु जरुरी छ । खानेकुराको कारणले घाउ पाक्दैन । पाक्ने कारण किटाणु हो । किटाणु रोगबाट, वातावरण र विरामी वा भिजिटरको शरीरबाट आउन सक्छ । कुपोषण हुने विरामीको रोगसँग लड्ने क्षमता कमजोर भएमा, संक्रमण लाग्ने र घाउ पाक्ने जोखिम बढ्छ ।
यसर्थ मासु, आलु, तरकारी मासको दाल जस्ता खानेकुराले घाउ पाक्दैन बरु यी खानेकुरा र अन्य पोषिलो खानेकुराहरु जस्तै दुध, अण्डा, फलफुल, साग र विभिन्न किसिमका तरकारीहरु विरामीलाई प्रशस्त मात्रामा खुवाएमा घाउ पाक्नबाट बचाउँछ ।
विरामीलाई विभिन्न किसिमका खान मन लागेको कुरा दिनुपर्छ :
डाक्टरले दिएको सल्लाह बाहेक विरामी हुँदैमा खानेकुरा बार्न लगाउँनु हुँदैन । विरामीलाई सामान्य अवस्थामा मन परेको खाना इच्छा अनुसारको दिन सकिन्छ ।
विरामीलाई थोरै-थोरै पटक-पटक खाना खान प्रोत्साहित गर्नुपर्छ:
प्रत्येक १,२ घण्टामा थोरै थोरै पोषिलो खानेकुरा खुवाउनु पर्छ (दिनमा ६–८ पटक) । लामो समयसम्म केही नखाइकन बस्नु हुँदैन ।
विरामीलाई खानाको सट्टामा धेरै झोलिलो चिज मात्र दिनु हुँदैन :
झोल पदार्थले पेट भरिने र अन्य खाना खान मन नलाग्ने हुन्छ । झोल पदार्थमा पानीको मात्रा धेरै हुन्छ र अन्य पोषिलो तत्वहरु कम हुन्छन् ।
विरामीलाई स्वादिलो खानेकुरा खान दिनु पर्छ:
चिल्लो, नून, र मसलाहरुले हाम्रो खानालाई स्वादिलो बनाउँछ र यिनीहरुलाई बार्नु पर्दैन ।
खानाको रुची बढाउनको लागि विरामीलाई ताजगीको महसुस गराउँनु पर्छ:
यदि विरामी उठ्न सक्छ भने खाना खुवाउनु अघि अलिकति हिँडाउँने र ताजा हावा प्राप्त गराउँने । हात-मुख धोई दिने र कपाल कोरिदिने । हरेक दिन विरामीको दाँत माझिदिनु पर्छ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९ १०:५८