द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकी छन् । उनी भारतको सर्वोच्च पदका पुग्ने आदिवासी समुदायकी प्रथम सदस्य हुन् । ६४ वर्षीया आदिवासी नेत्री मुर्र्मुको जन्म उडिसा राज्यमा भएको हो । उनी सन्थाल समुदायकी हुन्।
राष्ट्रपति पदका लागि जुलाई १८ मा मतदान भएको थियो । राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित भू-भागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए ।
जुलाई २१ मा निर्वाचन परिमाण सार्वजनिक गरिएको थियो । मुर्मुले जुलाई २५ तारिखमा पद तथा गोपनीयताको शपथ लिई कार्यारम्भ गरे। मुर्मु निर्वतमान राष्ट्रपति रामनाथ कोविन्दको उत्तराधिकारी बने । कोविन्दको कार्यकार्य जुलाई २४ तारिखमा समाप्त भयो ।
सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मुलाई उम्मेदवार बनाएको थियो। उनी कांग्रेससहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिए । उनलाई जितका लागि ५ लाख ४३ हजार २१६ मत मूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७७ मतमूल्य प्राप्त गरी विजयी भए ।
भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरुलाई अप्ठ्यारो परेको थियो । भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मुले ७२ प्रतिशत मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरे ।
प्रारम्भदेखि नै भोटको सङ्ख्या सत्तारुढ दलसँग बढी थियो । तर, जितका लागि चाहिने ५१ प्रतिशत भने पुगेको थिएन । मुर्मुको उम्मेदवारीले विपक्षी दलमा एकरुपता कायम रहन सकेन । विपक्षी गठबन्धनमा रहेका कतिपय दलले मुर्मुलाई खुलेर साथ दिन पुगे भने धेरै क्रस भोट पनि उनको पक्षमा भयो । विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमुल कांग्रेसलाई पनि मुर्मुको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो ।
आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयम् तृणमुल कांग्रेसका अध्यक्ष ममता बनर्जीलाई समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बङ्गालमा चुनावी प्रचारका लागि आउनैमा रोक लगाएको थियो । त्यसले पनि सिन्हालाई अप्ठ्यारो पारेको थियो ।
राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरु मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको सङ्ख्या ७७६ छ । त्यस्तै ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो । सबैतिरबाट मतपेटिका दिल्लीमा ल्याइएपछि मतगणना गरिएको थियो।
भाजपाले यसअघि दलित समुदायकै रामनाथ कोविन्द र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।
मुर्मु यसअघि झारखण्डको राज्यपाल थिए । मुर्मु भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन् । सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभादेवी पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन् ।
भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन । तर पनि केही महत्वपूर्ण अधिकार संविधानमै व्यवस्था गरिएको छ । यो भारतको सर्वोच्च सम्मानित पद हो ।
राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मुले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता सिन्हालाई पराजित गरे । सिन्हाले आफ्नो हार स्वीकार गर्दै मुर्मुलाई जितका लागि बधाई दिएको थियो ।
सिन्हा पहिला भाजपामै थिए । सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री बनेको थियो । अहिले भने उनी भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीका प्रखर आलोचकका रूपमा चिनिन्छ ।
गत राष्ट्रपतीय निर्वाचनअघि उम्मेदवार बनाउनेबारे भाजपाले विचार गरिरहेको हल्ला चलेपछि मुर्मु सन् २०१७ मा चर्चामा आए । त्यस बेला उनी झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत थिए ।
मुर्मुको जन्म १९५८ को जुन २० मा उडिसाको मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल समुदायमा भएको हो । उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्छ । भारतका विभिन्न राज्यमा बाहेक बङ्गलादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ ।
मुर्मूका बुबा विरङ्चीनारायण टुडू आफ्नो पञ्चायतको मुखिया थिए । स्नातक गरेकी उनले आफ्नो राजनीतिक जीवनको सुरुवात भने उडिशा सरकारमा ‘क्लर्क’ पदबाट गरेको थियो ।
मुर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरे । उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी उनी सन् १९७९–१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिए । उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजुकेसन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरे ।
मुर्मुको राजनीतिक जीवन सन् १९९७ मा सुरु भएको हो । त्यतिबेला उनी स्थानीय परिषद् सदस्य चुनिए । भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भए । सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उनी मन्त्री बने ।
सुरुमा वाणिज्य तथा यातायातमन्त्री भएकी उनलाई पछि मत्स्य तथा पशु मन्त्रालयको जिम्मेवारी दिइएको थियो । बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गरेको थियो ।
सन् २००६ देखि सन् २००९ सम्म मुर्मु उडिसामा भाजपाको अनुसूचित जनजाति मोर्चाको अध्यक्ष बने । भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसर नपाएको समुदाय मान्छ ।
सन् २०१५ मा मुर्मुले सक्रिय राजनीति त्यागी छिमेकी राज्य झारखण्डको पहिलो महिला राज्यपालका रूपमा नियुक्त भए । उनी राज्यपाल हुने उडिसाकै पहिलो आदिवासी नेत्री भए ।
राज्यपाल बनेर उनले सन् २०२१ को जुलाईसम्म ६ वर्ष काम गरे । आफ्नो कार्यकालमा मुर्मुले निकै प्रशंसा कमाए । उनको कार्यालयको ढोका सबै किसिम समुदाय र पेसाका मानिसका लागि खुल्ला थियो ।
उनको पारिवारिक जीवन भने सुखी छैन । उनका पति श्यामचरण मुर्मुको निधन भइसकेको छ । उनको तीन सन्तानमध्ये दुई जनाको असमायिमै निधन भइसकेको छ । अहिले उनकी एक जना विवाहित छोरी छन् ।
भारत सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएको हो । त्यसयता हालसम्म डा. राजेन्द्र प्रसाद, डा.सर्वपल्ली राधाकृष्णन्, डा. जाकिर हुसेन, वराहगिरी बेङ्कटगिरी, डा. फखरुद्दिन अलीअहमद, नीलम सञ्जीव रेड्डी, ज्ञानी जैल सिंह, आर बेङ्कटरमन, डा. शङ्करदयाल शर्मा, केआर नारायनन, डा. एपीजे अब्दुलकलाम, प्रतिभादेवी सिंह पाटिल, प्रणव मुखर्जी र रामनाथ कोविन्द राष्ट्रपति भइसकेको छ ।
भाजपाले राष्ट्रपति पदको उम्मेदवारका रूपमा नाम घोषणा गरेपछि मुर्मुले आफू छक्क परेको बताएको थियो ।
अनि याे पनि :