ललितपुर । बाथरोग निवारण तथा सचेतना अभिबृद्धिको लागि काम गर्दै आएको ‘नेपाल बाथरोग मैत्री समाज’ को ११औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
नेपाल बाथरोग मैत्री समाजले आज ललितपुरको सातदोबाटोमा एक विशेष कार्यक्रमकाे आयाेजना गर्दै बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको हो ।
समाजले आयोजना गरेको सो कार्यक्रममा स्वास्थ्य सेवा विभागको महानिर्देशक डा दिपेन्द्ररमण सिंह प्रमुख अतिथि रहेका कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौड्याल, अथितिहरुमा वाथरोग विशेषज्ञ डा. दिपा शाह, डा. उज्वल रिसाल, डा. अमृत घिमिरे, डा. अमिृतकुमार राना, डा. कृष्ण अधिकारी, डा. सुमित पाण्डे, डा. प्रयुश शर्मा, डा. प्रदिप श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. दिपेन्द्ररमण सिंहले बाथरोग समाजले बाथरोग सम्बन्धी उपचारका लागि देशभर सेवा दिने कुरामा अघि बढ्नुपर्ने बताएका थिए । त्यसको लागि स्वास्थ्य सेवा विभागले सक्दो भुमिका खेल्ने बताउँदै उनले बाथरोग मैत्री समाजले देशलाई धेरै दिन सक्ने समेत बताएका थिए ।
विशेष अतिथि तथा समाजका संस्थापक वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धि पौडेलले बाथरोगको उपचार महंगो र दिर्घरोग भएपनि सरकारले यस रोग सम्बन्धमा वेवास्ता गरेको बताउँनुको साथै उनले क्यान्सर, मुटु, मृगौला रोगीहरुलाई जस्तै बाथ रोगीहरुलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका थिए ।
वाथरोगको सचेतनाका निम्ति सरकारदेखि चौथो अंग मिडियाले समेत यथोचित प्राथमिकता नदिएको गुनासाहरु पोखेका थिए । समाजको सल्लाहकार समेत रहेका डा. पौडेलले संस्थाको सेवा क्रमिक रुपमा देशभर पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा डा. उज्वल रिसालले वाथ रोगीहरुलाई खोपको महत्व विषयमा उजागर गर्दै वाथ रोगीलाई रोगसँग लड्ने क्षमता कम भएकाले पनि कुनैपनि किसिमका खोपहरु महत्वपूर्ण हुने बताएका थिए । त्यसमाथि कोरोनाको खोप झनै महत्वपूर्ण हुने समेत उनले बताए ।
वाथरोग विशेषज्ञ डा.दिपा शाहले हड्डी स्वास्थ्यको महत्वबारे कार्यक्रममा प्रकास पार्दै उनले हडडी्को स्वास्थ्यका लागि वयस्क उमेरदेखि नै सन्तुलित भोजन, ब्यायाम तथा योगमा ध्यान दिनुपर्ने बताएकी थिइन् । हड्डी स्वास्थ्यका लागि पोषणयुक्त सन्तुलित भोजन तथा भिटामिन डीको जरुरत रहने समेत डा. शाहले बताएकी थिइन् ।
त्यस्तै, डा. अमृत घिमिरेले वाथ रोगीहरुले के के खानुहुन्छ र केके खानु हुदैन् भन्ने बारेका समाजमा रहेका भ्रमहरु चिर्ने प्रयास गर्दै बाथ राेगीहरुले मुलभुत रुपमा खानपीनमा कुनै किसिमका कुरा बार्नु नपर्ने बताएका थिए । तर युरिक एसिडको बाथको सवालमा एसिड बन्ने खानेकुरा खान नहुने बताएका थिए ।
त्यसका अलावा बाथ रोगीहरुले धुम्रपान, मद्यपान र सिसिमा गालेका अचारहरु खान नहुने र सो बाहेक सबै चीजहरु बाथ रोगीहरुले खाँदा हुने डा. घिमिरेले बताएका थिए ।
कार्यक्रममा ठूलो सङख्यामा जनसहभागिता रहेको कार्यक्रमको सभापतित्व वरिष्ठ बाथरोग मैत्री समाजका अध्यक्ष मोहन न्यौपानेले गरेका थिए । समग्र कार्यक्रमको संयोजन आरोज्ञ स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा सोही समाजका महासचिव हरिप्रसाद तिमल्सिनाले गरेका थिए ।
बाथरोग समाजको ११औं साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ कार्य समितिको अध्यक्षमा मेनका आचार्य चयन भएका छन् ।
त्यस्तैगरी प्रथम उपाध्यक्षमा रुपा विमल क्षेत्री, द्धितिय उपाध्यक्षमा बलरामकृष्ण बञ्जाडे, महासचिबमा गणेश थापा, सचिबमा सुष्मा रेग्मी, कोषाध्यक्षमा विजयराज अधिकारी र सह–कोषाध्यक्षमा टिकादेशी श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सरला श्रेष्ठ, टिका तिमल्सिना, राजु पन्थी र सविन कार्की रहेका छन् ।