काठमाडौ । देशको अधिकांश स्थानमा आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ ।
मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताएको हो ।
मौसमविद् भट्टराईका अनुसार प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ ।
विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश-१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
उक्त भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश-१ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
रातको समयमा देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका प्रदेश-१ र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १२:१०