-रमेश सुबेदी
ललितपुर-१३, कुसुन्ती ।
प्रकृतिदेवीले आफ्नो रफ्तारमा प्राणी जगतको भलो गर्दा गर्दै पनि प्राणी मध्यको बुद्धिमान मनुष्यहरुले आफूखुशी विनास र स्वरूप नै बदल्दै अनेक वितण्डा गरेको देखेर अती दुःखी भईन् । जति जे गरे पनि सहेर बसे, तर पापीहरूको पापको घडा भरिएको हुँदा र पृथ्वीलाई भार थाम्न गाह्रो भयो भन्दै यमपुरीमा चित्रगुप्तको दरवारमा दण्डको भागीदारलाई दण्ड दिई प्राकृतिक सन्तुलन मिलाई पाउँ भनी निवेदन दिईन् ।
चित्रगुप्तले यमदुतहरुलाई वास्तविकता के हो बुझेर जाहेर गर्नु भन्ने आदेश भएअनुसार, यतादेखि उतासम्म र उतादेखि यतासम्मको सयर गर्दा अनेक दृश्य आफ्नु मन मस्तिष्कमा कैद गरेपछि यमपुरी पुगे । चित्र गुप्तले पृथ्वीबासीको हाल चाल सोधे। कतिको हाहाकार छ ? छुस्स किरारुपी (कोरोना) काल खटाई दिएको थिएँ । तिमीहरू त रित्तै आयौ त।
पहिलो चरण, दोस्रो चरण गर्दै बिस्तारै आफ्नो मिति नै नपुगी हामी सङ्ग आउन खोज्ने धेरै थिए । कोही आत्तिएर पनि प्राण छोडी रहेका थिए। यतिबेला केहीलाई दण्ड दिएर आएका छौं, केहीलाई लिएर आएका छौं । धेरैको समय नपुगेको हुँदा यो पाली केही पीडा दिएर आएका छौं । अस्पताल रूपी रणमैदानमा जीवनको अन्तिम लडाइँ लड्ने धेरैलाई चाहिने अक्सिजन र सास फेर्न सजिलो पार्ने मेशिनको आभाव पार्ने जिम्मेवार पदमा बसेकाको लिस्ट तयार गरी ल्याएका छौँ । पालै पालो तिनीहरूलाई दण्ड हुने नै छ।
धेरै बाठोहरुले एक आपसमा दूरी कायम गर्ने, भेटघाट नगर्ने, हात धुने र नाक, मुख छोप्ने गरेर किटाणुलाई आफू नजिक आउन दिएका छैनन। अबको केही महिनापछि यो सबै भुलेर फेरि घुमफिर, भेटघाट गर्न शुरु गर्छन्। त्यो बेलाको चित्कार, कुनै रोग नलागेकोलाई पनि, दीर्घ रोगी, बालक, वृद्ध केही नभनी लग्यो भन्दै कराउने छन् । सदगत गर्न समेत सामेल हुन नपाउने गरी पापी अधर्मी, धनको तुजुक देखाउने, पदको दुरूपयोग गर्ने सबैलाई पूर्व कर्म अनुसारको दण्ड दिने व्यवस्था गरी आएका छौं।
यतिबेला जो जो घरभित्र लुकेर बसेका छन्, तिनीहरूलाई छोडेका छौँ । व्याएको कुकुर्नी जसरी यताउता भौतारी रहनेलाई छोडेका छैनौं प्रभु!
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १०:३६