काठमाडौ । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो ।
एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा ५१ करोड ४२ लाख १ हजार ५१३ राजश्व छुट दिइएको छ ।
अघिल्लो आवमा ७ हजार ६१ वटा लिखद पास गर्ने महिलालाई ३९ करोड २१ लाख ८ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ ।
कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई २३ हजार ४४२ राजस्व दिइएको छ ।
परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको कार्यालयले उनको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ ।
कार्यालयले गत आव २०७८/७९ मा रु ८३ करोड २८ लाख ९ हजार ८३१ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षक वापत ४ लाख २५ हजार राजस्व उठाएको हो ।
कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखद दर्ताबाट सो सङ्ख्या बराबरको राजश्व सङ्कलन गरेको हो । मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेचलगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट ७३ लाख ३३ हजार ७३४ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९ १५:५०