हरेक वर्षको असार-साउन तथा भदौ यी तीन महिना नेपालको लागि दशाको महिनाको रुपमा लिइने गरेको छ । यी तीन महिना बर्षादको महिना भएको कारण कतिखेर अनि कहाँ बाढी–पहिरो गएर वितण्डा मच्चाउने हुन भन्ने हरपल डरै डर हुने गर्दछ ।
यो डरको घर विगतमा झै यो बर्षपनि कायमै रहेको छ । नेपाल जस्तो गरिबी देशको लागि बाढी-पहिरो भनेको थप गरिबीको उपज हो । यो बर्षपनि ठाउँ-ठाउँमा बाढी-पहिरोले गर्दा नेपाली जनतालाई आक्रान्त पारेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार बाढीपहिरोका कारण विगत १० वर्षमा झन्डै २,००० जनाको मृत्यु भएको छ भने ७२,००० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।
त्यस अवधिमा बाढीपहिरोकै कारण १८ अर्ब भन्दा बढीको क्षति भएको विवरण केन्द्रले राखेको छ । उक्त अवधिमा पहिरोका मात्र २,००८ घटना भएका छन् भने १,०५३ जनाको पहिरोका कारण निधन भएको छ । पहिरोले विगत १० वर्षमा ७,००० भन्दा बढी घरपरिवारलाई प्रभावित पारेको छ । जुन अत्यन्त दुःखदायी आँकडा हो ।
केन्द्रको विवरणमा २०७२ सालयता पहिलेको तुलनामा पहिरोका घटनामा वृद्धि हुँदै गएको देखिन्छ । पछिल्ला वर्षहरूमा विशेषगरी बाढीपहिरोका घटना बढ्नुमा मानवीय कारण मुख्य दोषी देखिएको छ । उनीहरूका अनुसार समथर स्थानमा बाढी र डुबान देखिनुमा नदी वा पानी बग्ने क्षेत्रहरूको अतिक्रमण मुख्य कारण रहेको देखिएको छ ।
पहाडमा पहिरो जानुमा चाहिँ जथाभाबी मेसिन चलाएर बाटो खन्ने प्रवृत्ति मुख्य कारण बनेको छ । गाउँघरमा पहिले आफ्नो खेतबारी र जङ्गल वा सरकारी जग्गाको सीमामा कुलेसो खनेर त्यसलाई नजिकैको प्राकृतिक खोल्सामा लाने चलन रहेको थियो । त्यस्तो चलन अहिले गाउँमा वृद्धवृद्धा मात्र हुँदा हराएको र वर्षाको भेल खेतीयोग्य बारीको कमलो माटोमा झर्दा पहिरो बढ्ने गरेको पाइएको छ ।
मानविय तथा प्राकृतिक जे-जस्तो कारणवाट बाढी-पहिरो गएतापनि दुःखदायी घटना तथा परिघटना हो । यसलाई निराकरण गर्न र गराउन समयमा नै स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मका तीनै तहका सरकारले ध्यान दिनु अत्यन्त जरुरी छ ।
अनि याे पनि :
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९ ०९:०२