पूर्णवहादुरले आमाको कोखबाट हतारिँदै पृथ्वीमा आएको धेरै भएको थिएन । उसको आमा बा लाई उसको न्वारन र पास्नी गर्न हतार भइहाल्यो । अनि राम्रोसँग जवान हुन नपाउँदै फेरी उसको आमा बा उसको ब्रतबन्ध गर्न हतारिए । त्यसलगत्तै छिटो छिटो अग्लिँदै गएको पूर्णवहादुरलाई घरपरिवारको दवाब आएपछि आफ्नो खुट्टामा उभिन हतार भयो । अनि सानोतिनो काममा दक्षता हासिल गरेको मात्रै के थियो उसले हतारमा विवाहको प्रस्ताव पनि उसमाथि सबैले थोपरिदिए । यद्यपी पूर्णवहादुर पनि विवाहको लागि नहतारिएका भने थिएनन् । यौवनको उन्मादले ।
विवाहपश्चात पूर्णवहादुरलाई सुहागरातमा बल्ल आफू पूर्ण भए झैं लागेछ । त्यसपछि मानव सभ्यताको निरन्तरतामा जुटेको पूर्णवहादुरले सृष्टिको जगेर्नाका लागि इट्टा थप्दै जाँदा उसको घरमा दुई छोरा र एउटी छोरी नयाँ पाहुना बनेर आए । तर यो खुशीले उसलाई राम्रोसँग पूर्णरुपले छुन सकेन । यहीवेला उसको श्रीमतीको क्यान्सरका कारण निधन भएपछि । लगत्तै अर्को विवाह गर्न कैयौं दबाब आउँदा पनि पूर्णवहादुर छोराछोरीले सौतेनी आमाको दुव्र्यवहार खेप्न नपरोस् भनेर राजी भएनन् ।
अनि पूर्णवहादुर आफ्ना पुर्खाले झैं आफ्नो सन्तानकोे न्वारन, पास्नी र ब्रतबन्ध गर्दै विवाह गरिदिन पनि हतारिए । त्यसपछि बाली काटेको किसान जस्तै दङ्ग परेका पूर्णवहादुर नाती नातिनीको अनुहार हेर्दै खुशीले आफ्ना बा आमालाई आफूले गरेको राम्रो व्यवहार जस्तै व्यवहार आफ्ना सन्तानबाट पनि पाउने भरोशा गर्दै रमाउँन थाले ।
यसरी खुशीका साथ जीवन विताइरहेका निकै नै आशावादी पूर्णवहादुरको घरपरिवारको खुशीका लागि मात्र नभई अन्य चाहानाहरु पनि धेरै थिए । तर घरपरिवारको सन्तुष्टिलाई नै सर्बोपरि मान्ने पूर्णवहादुरको प्रेम र सदभावको महत्व रगतको नातासँग सम्बन्धित हुने विश्वास मनमा पूर्णरुपले गढेर बसेको थियो । जसलाई स्वीकारेअनुसार केही हदसम्म व्यवहारतः जीवनको पूर्वाद्र्धमा उसले राम्रो परिणामहरु पनि नभेट्टाएको होइन । तर अन्ततोगत्वा बुढेशकालको जीर्ण शरीर र शिथिलताका कारण जव पूर्णवहादुरलाई छिमेकीको घर जाँदा हिँडेर बेलायत गए झै हुन थाल्यो तब घरपरिवारमा आँखामा हाले पनि नविझाउँने पूर्णवहादुर घरपरिवारकै लागि घृणाको पात्र बन्दै गयो । आफ्नो निश्क्रियताका कारण ।
अनि त विस्तार विस्तार आफ्नो मुटु झैं लाग्ने छोराहरुलाई पराईघरबाट आएकी बुहारीले औंलामा नचाएपछि पूर्णवहादुरले छोराहरुको पहिलेको झैं स्नेही व्यवहारको लागि धेरै तड्पिनु पर्यो । चित्त दुखाईको सीमा नाघेपछि आशावादी पूर्णवहादुर निराशाको खाडलमा यति नराम्रोसँग जाक्किए कि त्यहाँबाट निस्कने बाटाहरु सबै बन्द भए । त्यसपछि पूर्णवहादुरलाई आफू अपूर्ण भएको महसुस पूर्णरुपले हुन थाल्यो । आफ्नै जीन्दगीमा । अनि पूर्णवहादुर काललाई आत्तुरिएर कुर्न बाध्य भए । छोरा बुहारीको व्यवहारलाई झेल्न नसकेर । अन्तिममा चिन्ताले ग्रसित पूर्णवहादुरले संसार छोड्नु पर्यो । आफ्नै घरबाट निकालिने डरले हतारिँदै । आफ्ना अपूर्ण चाहनाहरु साथ लिएर ।
यसरी हतार हतार आमाको कोखबाट संसार हेर्न आएको पूर्णवहादुर हतारमै सबै कर्म गरेर कालगतिले नै भएपनि हतारमै देहत्याग्न बाध्य भए । जीवनको सम्पूर्ण भ्रमलाई पूर्ण सत्य सम्झेका कारण ।
अनि याे पनि:
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ १०:१६