रुकुम । रुकुम पूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँच जना घाइते भएका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा-५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।
गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए । सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् ।
घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ १४:०३