काठमाडौ । प्रतिनीधिसभाको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकको शून्य समयमा सांसद मीना सुब्बाले उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामी दैनिकरुपमा बढ्दै गएको जनाउँदै बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेको हो ।
सांसद सुब्बाले त्रिवि शिक्षण अस्पताल, वीर, टेकु अस्पतालमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल परेको अवस्था रहेको बताएका हुन् ।
सांसद मैनाकुमारी भण्डारीले नागरिकता विधेयकमा सरकार संवेदनशील हुन नसकेको गुनासो गरे भने सांसद रङ्गमती शाहीले स्वास्थ्य, शिक्षा र वृद्धवृद्धाको जिम्मा राज्यले लिनुपर्छ भनेका थिए ।
त्यस्तै, सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लाको भेडेटार–पाँचथरको रविराँके सडक (एक सय एक किलोमिटर) बाटो निर्माण सुरु गरेको ५ वर्ष भए पनि पूरा हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए भने सांसद रामवीर मानन्धरले शून्य समयमा बोलेको विषयको कुनै पनि सम्बोधन नहुने गुनासो गरेका थिए ।
सांसद रेनुका गुरुङले नेपाल– भारत खुला सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि अन्त्य गर्न सरकारसँग माग गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ १६:३६