गुल्मी । सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ ।
जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिएको हो ।
‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १ करोड़ विनियोजन गरिएको छ’, गुल्मी क्षेत्र नं. १ का सांसद समेत रहेको ज्ञवालीले भने ।
कोरोनाभाइरसको संक्रमणका बिरामीलाई अक्सिजन अभाव भएको समाचार सम्प्रषण पश्चात मन्त्री ज्ञवालीले जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेका हुन् ।
अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि थप रकमको समेत प्रबन्ध गरिएको मन्त्री ज्ञवालीले वताएका छन्।
कोभिडका बिरामीलाई उपचारका लागि समस्या हुन नदिन र ठूलो खर्चमा अन्यत्र लैजानु पर्ने अवस्था आउन नदिनका लागि आईसीयू स्थापना गर्न पहल गरिएको मन्त्री ज्ञवालीको भनाई छ ।
यससँगै जिल्लाका रुरु, श्रृंगा, जोहांग (खैरेनी) र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध हुने पनि मन्त्री ज्ञवालीले बताए ।
यस प्रक्रियामा महत्वपूर्ण सहयोग पुर्याउने अर्थमन्त्री र स्वास्थ्य मन्त्री लगायत सबै सहयोगीहरूलाई मन्त्री ज्ञवालीले धन्यवाद दिएका छन्।
कोरोना भाइरसको महामारी शुरु भएपछि गतवर्ष मन्त्री ज्ञवालीको पहलमा गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराइएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८ २१:४५