काठमाडौ । नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का बिकास कुमालले आज दोश्रो दिन थप दुई स्वर्ण प्राप्त गर्न सफल भएका छन् ।
कुमालले हिजो पहिलो दिनको खेलमा दुई स्वर्ण जितेका थिए ।
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखी आयोजना गरिएको प्रतियोगिताको दोश्रो दिन कुमालले २०० मिटर व्यक्तिगत मिड्लेमा २ मिनट २२.३७ सेकेण्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनट ३३.५३ सेकेण्ड समयका साथ दुई स्वर्ण जितेका हुन् ।
मिड्लेमा बागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए । यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।
पचास मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २९.१० सेकेण्ड समयका साथ स्वर्ण जिते भने सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए ।
सय मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेण्ड समयमा साथ स्वर्ण हात पार्दा बागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए ।
त्यस्तै १०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले आफ्नो तथा क्लबका लागि दोश्रो स्वर्ण जिते। उनले १ मिनट ४.४५ सेकेण्ड समयका साथ दुरी पुरा गरे ।
प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेण्ड समयका साथ स्वर्ण हात पारे भने बागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए।
महिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेण्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाए ।
यस्तै, २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनट ७.७८ सेकेण्डका साथ स्वर्ण हासिल गरिन् । दोश्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेश्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाईन्।
सय मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनट १.८५ सेकेण्ड समयका साथ स्वर्ण जित्दा बामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाईन् ।
यस्तै, १०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाए भने आर्याले उक्त दुरी १ मिनट १७.५९ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् ।
पचास मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेण्डका साथ स्वर्ण जित्दा बागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाए ।
दुई मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले १ मिनट ४३.५७ सेकेण्ड समयका साथ स्वर्ण जिते भने बागमती प्रदेशले रजत र एपिएफले कास्य जितेका छन् ।
बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पर्यटन, संस्कृती तथा नागरिक उड्यन मन्त्री माननिय जीवनराम श्रेष्ठ, उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।