कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला दश हजार मिटर दौड प्रतियोगितामा वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रङ्गशालामा भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो ।
राजपुराले उक्त दूरी ३६ मिनेट २९ दशमलव ४५ सेकेण्ड समय खर्चदै दोस्रो स्थानमा रहन पुगेकी हुन् । सोही स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ) की पुस्पा भण्डारी तेस्रो रहिन् भने पुस्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेण्ड समय खर्चदै तेस्रो स्थानमा रहन पुगेकी हुन् ।
सन्तोषीले यसअघि सन् २०१९ मा नेपालमा नै भएको तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
त्यतिबेला उनले भारतकी खेलाडीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्। सन्तोषी सागको एथलेटिक्स खेलमा स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडीसमेत हुन् ।
खेलपछि सन्तोषीले राष्टिय किर्तिमान कायम गर्नुभन्दा पनि मेडलको लागि मात्र खेलेको बताइन् ।
उनले आर्मी म्याराथनबाट घाइते भएदेखि राम्रो खेल प्रर्दशन गर्न नसकेको र किर्तिमान तोड्न गाह्रो भएकोसमेत बताएकी छन् । शारीरिक भन्दा पनि मानसिक रुपमा दृढ भएर स्वर्ण जित्न सफल भएकोमा आफू सन्तुष्ट रहेको उल्लेख गरेकी छन् ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९ १२:३०