उदयपुर । कटारी नगरपालिकाको एक सामुदायिक वन उपभोक्ता समूहमा करोडौँ मुल्य पर्ने काठ विवादका कारण कुहिँने अवस्थामा पुगेको छ।
कटारी नगरपालिका-२ स्थित सितापोखरी सामुदायिक वन उपभोक्ता समूहको १२ वर्ष अगाडी कटान गरेको साल जातको काठ अहिले कुहिने अवस्थामा पुगेको हो ।
तीन हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ कामै नलाग्ने गरी कुहिएर जाने अवस्थामा पुग्न लागेको स्थानीय डिल्लीप्रसाद धमालले बताए।

उनले भने, ‘१२ वर्ष अगाडी उपभोक्ताहरुका लागि भन्दै कटान आदेश लिएर काटिएका बहुमुल्य साल जातका काठ कामै नलाग्ने भईसकेको छ, न बिक्री गरिएको छ । न उपभोक्तालाई दिइएको छ ।’
उपभोक्तारुलाई काठको अभाव छ । घर बनाउनका लागि काठ अभाव भएपछि उपभोक्ताहरु आल्मुनियम, ग्रिलको प्रयोग गर्न वाध्य भएको उपभोक्ताको भनाइ छ।
विसं. २०६७ भदौ ४ गते वन पैदावार हानी नोक्सानी सम्बधि जिल्ला अदालत उदयपुरमा स्थानीय मनकुमारी भुजेलले समूहका पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरेपछि काठ न बिक्री हुन पाएको न वितरण गरिएको छ ।
उक्त मुद्दा जिल्ला अदालतबाट पुनरावेदन हुँदै सर्वौच्च पुगेपछि जाहेरीकर्ताको माग दावी अनुसार समितिको संलग्नता नरहेको फैसला भएको थियो।
विसं. २०७१ असार २० गते जिल्ला र पुनरावेदनको फैसला सर्वोच्चले सदर गरेपछि समितिले सफाई पाएको थियो । तर, पनि काठलाई प्रयोगमा ल्याउन नसकेको डिभिजन वन कार्यालय उदयपुर त्रिवेणीका प्रुमख विष्णुलाल घिमिरेले बताए।
उनका अनुसार मुद्दा फैसला भएपनि ३ हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ रहेकोमा २ हजार ४ सय १४ क्युफिट काठ मात्रै घाडगद्दीमा रहेको पाईएको छ ।
स्विकृत कटान लिई काटिएको ३ हजार ८ सय ६८ दशमल ५२ क्युफिट काठ नभएपछि विक्री वितरण गर्न नसकिएको सितापोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद गौतमको भनाइ छ ।
हाल उक्त काठ वितरण गर्न नसकिएपछि कुहिने अवस्थामा पुगेको छ । स्थानीयले तुरुन्त प्रकृया पुरा गरी उपभोक्तालाई वितरण नगरेपनि बिक्रि वितरण गर्न आग्रह गरेका छन् ।
करोडौंको काठ विक्री नहुँदा समुदायिक वन उपभोक्ता समूहको राजश्व समेत गुम्ने अवस्थामा पुगेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १४:५९