काठमाडौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि २ हजार १ सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि ६ सय १६, मधेसका लागि ८ सय ६३, बागमतीका ७ सय ५४, गण्डकीका लागि ३ सय ४४, लुम्बिनीका ५ सय ७९, कर्णालीका लागि २ सय र सुदूरपश्चिम प्रदेशका लागि ३ सय ५२ उम्मेदवार छन् ।
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४ सय ५७ उम्मेदवार थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९ १९:५६