काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएको छ ।
लोकतान्त्रिक-बाम गठबन्धन टोखा नगरपालिका वडा-५ ले आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै नेता पौडेलले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताएको हो ।
“काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ”, नेता पौडेलले भने ।
काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनको भनाइ छ।नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि आफूले पहल गर्ने उनले बताए।
केन्द्रीय सदस्य सीता देवकोटाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कल्पना शर्माले लामो समयको सङ्घर्ष र आन्दोलनको उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताए ।
काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा (२) का उम्मेदवार श्यामबहादुर खड्काले पार्टी र गठबन्धनको झगडामा नअल्झिकन निर्वाचनमा केन्द्रीत हुन सबैलाई आग्रह गरेका थिए।
काठमाडौँ क्षेत्र नं ५ गठबन्धनका निर्वाचन संयोजक दीपक केसी, कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीलगायतले पछिल्लो समय युवालाई जनताले विश्वास गरेको बताउँदै गठबन्धनका युवा उम्मेदवारलाई विजय गराउन सबै लाग्नुपर्नैमा जोड दिएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ २१:२८