काठमाडौ । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् ।
निर्वाचन प्रचार प्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ छन् ।
स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजा अनुसार सो क्षेत्रका ८ वडामध्ये कांग्रेसले ४, नेकपा (एमाले) ले २, राप्रपाले १ र नेकपा (एकीकृत समाजवादी) १ मा विजयी भएका छन् ।
सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् ।
त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ ।
त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन-५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
आगामी निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमी उम्मेदवार छन् ।
उनले गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुखमा १३ हजार ७ सय ७० मत प्राप्त गरेको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा छन् । उनी बागमती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि थिए ।
विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व नवीन्द्रराज जोशीलाई १३ हजार ३ सय ९७ मत ल्याएर ४ सय ४४ को मतान्तरले पराजित गरेको थियो । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको हो ।
गत वैशाखमा भएको स्थानीय तहको निवार्चनको मतको परिणाम केलाउँदा पनि एमाले भन्दा कांग्रेस ३ हजार ६ सय ४३ मतले अगाडि छ ।
आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल ८ हजार ७ सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले ३ हजार ७४ मत र राप्रपाले १ हजार ५ सय ३९ मत प्राप्त गरेका थिए ।
कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार ७ सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमाले भन्दा गठबन्धन ६ हजार ७ सय १७ मतले अगाडि छ ।
विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ । कुल ५३ हजार १ सय ६ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।