उदयपुर । जिल्ला कारागार उदयपुर, गाइघाटमा रहेका जम्मा ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार सर्वोच्च अदालतले निर्वाचन आयोगको नाममा कैदी बन्दीहरूलाई भोट हाल्न पाउने व्यबस्था मिलाउन अन्तरिम आदेश जारी गरेसँगै ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएको हो ।
मताधिकार पाएका कैदीबन्दीले आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ मत लगाउन पाउने व्यवस्था सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख खेमराज कोइरालाले बताए ।
प्रमुख कोइरालाले भने, ‘निर्वाचन कसुरमा नपरेका र मतदाता नामावली भएका ६२ कैदीबन्दी हुनुहुँदो रहेछ, उहाँहरुले समानुपातिक तर्फ मतदान गर्न पाउनुहुन्छ । कारागारमै मतदानको व्यवस्था गरिने छ ।’
कोइरालाका अनुसार ६१ जना पुरुष र एक जना महिलाले मतमदान गर्ने छन् । जिल्ला कारागार उदयपुरका प्रमुख डिगम कार्कीका अनुसार हाल जिल्ला कारागारमा एक सय ३० जना कैदी र ९५ जना बन्दी गरि दुई सय २५ जना कैदीबन्दी रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १०:४५