काठमाडौ । राप्रपाका दिपकबहादुर सिंह प्रतिनिधिसभा सदस्यमा मकवानपुर १ बाट निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धन र एमाले–राप्रपा नेपालको गठबन्धनलाई जिल खुवाउँदै सिंहे २७ हजार ८ सय १६ मतसाथ निर्वाचित भएको हो ।
सिंहका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले २५ हजार ४ सय ३४ मत प्राप्त मात्र प्राप्त गरेकी छन् भने एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।
सिंह गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारमा पराजित भएका थिए ।
नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहे पनि डोरमणि पौडेलसँग १ हजार २ सय मतान्तरले पराजित भएका थिए ।
विसं. २०५६ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए भने २०६४ सालको संविधानसभा र ०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए ।
यसरी निर्वाचनमा निरन्तर असफल हुँदै आएका सिंह पहिलो पटक संसदीय राजनीतिमा सफल भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:५४