काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट निर्वाचित भएका छन् ।
मतगणना अनुसार लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएका छन्।
निर्वाचित प्रतिनिधिसभा सदस्य लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।
२०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई हराएका थिए ।
लिङ्देनले ४४ हजार ६ सय १४ मतसहित निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १ सय ७१ मत परेको थियो भने २०७० सालमा सिटौलाले लिङ्देनलाई हराएका थिए ।
लिङ्देनले विसं.२०३६ सालबाट राजनीतिक यात्रा सुरु गरेका थिए । तत्कालीन समयमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध भई राजनीति सुरु गरेका थिए । विसं. ०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेर त्यसको संस्थापक अध्यक्ष बने ।
उनको राप्रपाको राजनीति भने ०५१ सालको महाधिवेशन प्रतिनिधिबाट सुरु भएको थियो । पञ्चायतकालमै उनी गोलधाप गाउँपालिकामा वडाध्यक्ष बनेका थिए ।
२०६१ देखि ०६३ सालसम्म झापाको जिल्ला विकास समिति सभापति बनेका थिए लिङ्देनले कमल थापाले राप्रपा विभाजन गरेर राप्रपा नेपाल गठन गर्दा थापालाई साथ दिएका थिए ।
लिङ्देन ०७१ सालमा तत्कालीन राप्रपा नेपालको महामन्त्री बनेका थिए । ०७८ को मंसिरमा राप्रपा अध्यक्षका लागि भएको निर्वाचनमा कमल थापालाई पराजित गरेर अध्यक्षमा चुनिए ।
अध्यक्षमा चुनिँदा लिङ्देनले १ हजार ८ सय ४४ मत ल्याएका थिए भने थापाले १ हजार ६ सय १७ प्राप्त गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १६:५९