काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरु भएको छ । शुक्रबार थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच महोत्सवको समुदघाटन भएको हो।
सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन।
समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी, जिआइजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिएका थिए ।
भारतबाट महोत्सवका लागि नेपाल आएकी अभिनेत्री शबाना आजमीले नेपालमा आफू नाटकको महोत्सवमा सहभागी हुन पाउनु खुशीको कुरा भनेकी छन्। उनले अगाडि भनिन्, ‘नेपालमा कलाकारहरु मिलेर आफै नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ । यो निकै सह्रानीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला ।”
महोत्सवका निर्देशक रंगकर्मी सिर्जना सुब्बाले महोत्सवलाई सबै मिलेर उल्लासमय रुपमा मनाउन आह्वान गर्दै रङ्गमञ्चले पाएको मायाप्रति आभार व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘कोभिडले थला परेको रंगमञ्चलाई उठाउँदै महोत्सवसम्म आइपुगेर स्वागत गर्न पाउँदा हामी खुशी छौं ।”
समुद्घाटनका क्रममा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकहरुको संग्रह ‘इन्द्रधनुषः यस छिमलका नाटकहरु’ पनि विमोचन भएको थियो । महोत्सवको समुदघाटनको नाटक स्वरुप नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरिएको थियो ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ ०९:३२