अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति चुनाव लड्ने घोषणासँगै नयाँ चर्चा सुरु भएको छ । सन् २०२४ को राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका उनलाई चुनाव जित्न भने सजिलो छैन । तैपनि उनले आफूलाई सफल उम्मेदवारका रुपमा दावी गरेका छन् ।
सम्पन्न मध्यावधि चुनावले राष्ट्रपति जोए बाइडेनको लोकप्रियता केही कमी आयो । दुवै सदनमा नियन्त्रण कायम राखेको राष्ट्रपति बाइडेनको सत्तारुढ डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत गुमाएको छ । सन् २०२० को नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा सो दलले २२० सिट जिती बहुमत ल्याएको थियो । तल्लो सदनमा विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएको छ ।
तल्लो सदनमा बहुमत गुमाएका राष्ट्रपति बाइडेनको अब बाँकी दुई वर्षको कार्यकाल केही चुनौतीपूर्ण हुने भए पनि सिनेटमा आफ्नै दलको बहुमत कायम रहेकाले काम गर्न ठूलो अबरोध आउँदैन । नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले तल्लो सदनमा २१८ सिट जितेको छ । यसअघिको निर्वाचनमा सो पार्टीले २१२ सिट जितेको थियो । यस पटक तल्लो सदनको सबै ४३५ सिट, माथिल्लो सदन सिनेटका ३५ सिट र ३४ गभर्नरका लागि निर्वाचन भएको हो । तल्लो सदनमा बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ ।
तल्लो सदनमा बहुमत गुमाए पनि बाइडेनको राष्ट्रपतीय कार्यकालका लागि भने कुनै असर पर्दैन । तर यसले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा भने चुनौती सामना गर्नुपर्ने हुनसक्छ । तल्लो सदनमा रिपब्लिकन पार्टी ठूलोे भएकाले कानुन तथा नीति निर्माणमा अवरुद्ध पार्न सक्छ । रिपब्लिकनका तर्फबाट सन् २०२४ को राष्ट्रपतीय चुनावका मुख्य दाबेदार फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पुनः एक पटक विजयी भएका छन् ।
माथिल्लो सदन सिनेटमा भने डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा भयो । सिनेटका एक सय सिटमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो । यसअघि सिनेटमा दुवै दलको हाल ५०/५० सिट थियो तर डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति बनेकी कमला ह्यारिसले सिनेटमा निर्णायक मत दिन पाउने अधिकार भएकाले डेमोक्रेटिक पार्टी बहुमतको अवस्थामा थियो । यस पटक भने डेमोक्रेटिक पार्टीले ५० र रिपब्लिकन पार्टीले ४९ सिट जितेका छन् । जर्जियामा डेमोक्रेटिकका राफेल वार्नक रिपब्लिकनका हर्सेल वाल्करभन्दा अघि भए पनि ५० प्रतिशत मत कटाउन नसकेका कारण डिसेम्बर ६ मा पुनः चुनाव हुनेछ ।
अमेरिकी संसद्मा दुई सदन छन् । तल्लो सदनका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ भने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुन्छ । एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिन्छ । राष्ट्रपतीय निर्वाचित भएको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यावधि निर्वाचन (मिड–टर्म इलेक्सन) भनिन्छ ।
डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदनमा बहुमत कायम गर्न चुकेसँगै गर्भपतनको अधिकार, बन्दुक नियन्त्रणको मुद्दा र स्वास्थ्यसम्बन्धी सेवामा असर पुगेको छ । सर्वोच्च अदालतले गत जुनमा संवैधानिक रूपमा संरक्षण गरिएको गर्भपतनसम्बन्धी अधिकारको अन्त्य गरिसकेकाले अब संसद्मा बहुमत ल्याउने दलले अब नयाँ कानुन बनाउनुपर्नेछ ।
चुनावी मुद्दाका रूपमा डेमोक्रेटिक पार्टीले गर्भपतनमा कानुनी पहुँच कायम राख्ने वाचा गरेको थियो भने रिपब्लिकनले १५ साताभन्दा बढीको गर्भपतनमाथि कानुनी प्रतिबन्ध लगाउने बताएको छ । सो पार्टी अध्यागमन, धार्मिक अधिकार र हिंसात्मक अपराधसम्बन्धी नियममा थप कडाइ गर्ने पक्षमा छ । त्यस्तै, बाइडेन प्रशासनको अध्यागमन नीतिसमेत परिवर्तन गर्ने दाउमा रिपब्लिकन छ ।
आफ्नो जीतसँगै सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिल (संसद् भवन)मा भएको आक्रमणको अनुसन्धान बन्द गर्ने रिपब्लिकनको सोच छ । तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचन हारेपछि उनका समर्थकहरुले असहमति जनाउँदै संसद् भवनमा आक्रमण गरेका थिए । सो घटनामा पाँच जना मारिएका थिए भने संसद् भवन तोडफोड भएको थियो । घटना हुनुमा ट्रम्पलाई जिम्मेबार ठहर्याउँदै छानविन प्रक्रिया अगाडि बढाइएको छ ।
चुनावी परिणामले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने सन् २०२४ को चुनावमार्फत पुनः राष्ट्रपतिमा फर्कने अवस्था केही असहज बनेको देखिएको छ । उनले छनोट गरेका कतिपय उम्मेदवारहरू चुनावमा असफल भएका कारण उनीमाथि फ्लोरिडाका गभर्नर रोन डिसान्टिस हाबी हुनसक्ने देखिएको छ । डिसान्टिस अत्यधिक मतसहित पुनः विजयी भएका छन् । तर पनि ट्रम्प पछि हट्ने सम्भावना कम छ ।
चुनावको अन्तिम नतिजा आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरूप यसअघि राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम चुनावी र्यालीहरूमा सम्बोधन गरे । ट्रम्पले भने आक्रामक भाषण गर्दै अमेरिकाको पतन चाहनेले मात्र डेमोक्रेटलाई मतदान दावी गरे । “देशको विनाश रोक्न चाहनुहुन्छ भने रिपब्लिकनलाई मत दिनुपर्छ”, उनको भनाइ थियो ।
डेमोक्रेटिक पार्टीले कोरोना महामारी नियन्त्रण, राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाएको थियो ।
रिपब्लिकन पार्टीले भने आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने नारा दिएको थियो ।
अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार र रिपब्लिकन पार्टीलाई अनुदार पार्टी मानिन्छ । डेमोक्रेटिक पार्टी सत्तामा आएपछि अमेरिकालगायत विश्वभर उदारवाद र सुधारवादले स्थान पाउने गरेको छ भने रिपब्लिकन पार्टी सत्तामा आएपछि अनुदारवाद हावी हुँदै आएको छ ।
अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्दछ । नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ । त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ ।
अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ । अमेरिकी मतदाताहरुले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अपत्यक्ष अर्थात् गठिन ५३८ सदस्यीय इलेक्टोरल कलेजले गर्ने गर्दछ । अमेरिकी कङ्ग्रेस दुई सदनात्मक छ । हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।
अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचना सुरु भएको हो । पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेकिकामा बसोबास गर्दै आएको हुनुपर्ने छ । एक व्यक्ति लगातार दुईपटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ । ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ ।
तत्कालीन बेलायतको उपनिवेशमा रहेको अमेरिकामा सन् १६१९मा काला जातिका मानिसलाई दासका रुपमा अफ्रिकाबाट भित्र्याइएको हो। काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार दिइएको थिएन । बेलायती उपनिवेशबाट सन् १७७६ मा अमेरिका मुक्त भई जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनले गृहयुद्धको रुप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथाको उन्मूलनको घोषणा गरिएको थियो। दास प्रथा उन्मूलन भएपछि अमेरिकी नेतृत्व समावेशी भएको छ ।
गोरा जाति र काला जाति दुवैबाट सर्वोच्च पद राष्ट्रपति बनेका छन् । यो नै अमेरिकी संविधानको मूल विशेषता हो।अमेरिकाको इतिहासमै पहिलो पटक काला जातिको प्रतिनिधित्व गर्दै बाराक ओबामा राष्ट्रपति बने । उहाँ सन् २००८ देखि २०१६ सम्म दुई कार्यकाल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भए । दुई कार्यकालमा उनले मुलुकका लागि महत्वपूर्ण काम गरे ।
अमेरिका बेलायतबाट स्वतन्त्र भएको २४६ वर्ष पुगेको छ । यो अवधिमा अमेरिका ठूलो प्रगति गरी विश्वकै सर्वाधिक शक्तिशाली र पहिलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यो अवधिमा अमेरिकाले गरेको प्रगति र उन्नति विश्वकै लागि उदाहरणीय छ । अहिले अमेरिका नै विश्वको नेता हो । अमेरिकामा हुने नेतृत्व परिवर्तन र निर्वाचनले विश्व राजनीति नै प्रभावित हुन्छ ।
- नामी साप्ताहिक