काठमाडौ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको हो।
कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
सूचना अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा ३, विकास बैंकले २ र फाइनान्सले १ मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ ।
ललितपुरमा वाणिज्य बैंकले २, भक्तपुरमा १ तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा १/१ शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक प्रकाशन गर्नुपर्नेछ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ १९:२५