काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ ।
इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।
“मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ ।एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु २ सय ७७.०२ घाटा भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।”
ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ ।
“हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९ १२:४३