काठमाडौ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको छ । प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ ।
“किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ”, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, “यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।”
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाइ पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सहबनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । उधौली पर्वको अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
“धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो”, किराँती राई यायोख्खाका अध्यक्ष राईले बताए ।
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्, “उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।”
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९ ०९:५५