चीनलाई शक्तिशाली बनाउने नेता हुन् पूर्वराष्ट्रपति जियाङ जेमिन । उनी सन् १९९३ देखि २००३ सम्म राष्ट्रपति बने । तिआनमेन चोकमा भएका प्रदर्शनपछि सत्तामा पुगेका जियाङको ९६ वर्षको उमेरमा डिसेम्बर १ मा साङ्घाइमा निधन भयो ।
उनले नेतृत्व गरेको समयमा चीनले व्यापक रूपमा खुलापन अँगालेको थियो र तीव्र गतिमा आर्थिक वृद्धि हासिल गरेको थियो । कोभिडविरुद्ध प्रतिबन्धहरूलाई लिएर चीनले तिआनमेन चोकमा भए प्रदर्शनयताकै गम्भीरमध्येका प्रदर्शनहरू झेलिरहेका बेला उनको निधन भएको छ ।
लुकिमिआ र विभिन्न अङ्गले काम गर्न छोडेका कारण पूर्वनेता जियाङको निधन भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई उच्च सम्मान भएका एक उत्कृष्ट नेता एवं लामो समय परीक्षित कम्युनिस्ट लडाकुका रूपमा चित्रण गरेको छ ।
चीन सरकारले सन् १९८९ मा बेइजिङस्थित तिआनमेन चोकमा भएका रक्तपातपूर्ण प्रदर्शनपछि निर्वाह गरेको भूमिकाका लागि जियाङको प्रशंसा गरेको छ। उनको नेतृत्वकालमा अर्थतन्त्रले फड्को मार्याे भने कम्युनिस्ट पार्टीले सत्तामा पकड दह्रो पार्याे अनि अन्तर्राष्ट्रिय मञ्चमा शक्तिशाली स्थान बनाउन चीन सफल देखियो ।
उनको कार्यकालमै सन् १९९७ मा शान्तिपूर्ण रूपमा बेलायतबाट हङकङको हस्तान्तरण भयो र सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनमा प्रवेश गर्याे । जियाङ सन् १९८९ को तिआनमेन चोकमा भएको रक्तपातपूर्ण आन्दोलनपछि चीनका नेता बनेका थिए । चीनले पश्चिमसँग सम्बन्ध सुधारेर विश्वव्यापी महाशक्ति बन्न सफल भएको र चीनमा एक दशकको तीव्र आर्थिक वृद्धि तथा समृद्धिको नेतृत्व गरेकोमा उनलाई सम्झिनेछ ।
विश्व व्यापार सङ्गठनमा चीनको प्रवेश र बेलायतबाट चीनलाई हङकङको हस्तान्तरणजस्ता उल्लेखनीय घटनाका उनी साक्षी रहे । तिआमेन चोकको विरोध प्रदर्शनपछि चीनको नेतृत्व गर्न जियाङलाई छनोट गरिएको थियो ।
त्यसले व्यापक लोकतन्त्रतर्फको आन्दोलन स्वीकार्य छैन भन्ने सन्देश चिनियाँ जनतामा पुगेको थियो । संयोग कस्तो परेको छ भने उनको निधन पनि तिआनमेनपछि चीनमा पहिलो पटक अहिले ठूलो मात्रामा प्रदर्शन भइरहेका बेला भएको छ ।
त्यहाँ हाल कोभिड प्रतिबन्धनविरुद्ध गम्भीर प्रदर्शनहरू भइरहेका छन् । उनलाई धेरैले प्रेमपूर्वक सम्झेका छन् । युवाले त उनलाई चीन अझ थप अधिनायकवादी र बन्द समाजमा रूपान्तरित हुँदै गर्दाको बेलाका रङ्गीन मिजासका व्यक्तित्वको रूपमा हेरेका छन् ।
जियाङको जन्म सन् १९२६ को अगस्ट १७ मा मा चीनको पूर्वी तटीय प्रान्त जियाङ्सुको याङ्झाउ सहरमा भएको थियो । उनी हुर्किँदै गर्दा त्यो क्षेत्र जापानी कब्जामा रहेको थियो । उनले त्यहीँबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरे ।
कलेज पढ्दा २१ वर्षको उमेरमा उनी कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए । उनको परिवारको कुनै क्रान्तिकारी विरासत नभएकाले माओत्सेतुङको बारम्बारको सफायाका बेलामा आफ्नो पृष्ठभूमिका कारण उनले पीडा भोग्न सक्थे । तर उनले आफ्नो प्रारम्भिक करियरको धेरै वर्ष विदेशमा बिताए । उनले मस्कोमा सोभियत कार कारखानामा प्रशिक्षण लिए र पछि रोमानियामा कूटनीतिज्ञका रूपमा काम गरे।
सन् १९८० सम्म उनी इलेक्ट्रोनिक्स उद्योग मामिला हेर्ने मन्त्री बने । त्यसपछि उनी साङ्घाईमा पार्टी प्रमुख बने तर त्यस बेलासम्म उनले राष्ट्रिय मामिलामा गहिरो छाप छाड्न सकेका थिएनन् । तिआनमेन चोकको विरोध प्रदर्शनले उनलाई ख्याति दिलाएको थियो ।
युवा प्रदर्शनकारीहरूले तिआनमेन चोक कब्जा गर्दा त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरामा राष्ट्रिय नेताहरू अलमलमा पर्दा जियाङले त्यसअघि नै साङ्घाईमा त्यस्तैखाले विरोधको सामना गरिसकेका थिए । उनले विरोध प्रदर्शनलाई उत्तेजित पारेको महसुस गरिएको अखबार बन्द गरिदिए र गेटिसबर्ग मन्तव्यको अंश उद्धृत गर्दै विद्यार्थीहरूलाई अङ्ग्रेजीमा सम्बोधन गरेर अवाक बनाइदिए ।
प्रदर्शनहरू बल प्रयोग नगरी शान्त पारिएको थियो र त्यो पाठ तत्कालीन चिनियाँ नेता देङ सियाओपिङले सिक्न सकेका थिएनन् । उनले कट्टरपन्थीहरूलाई साथ दिए उदारवादीहरूलाई हटाए र जियाङलाई कम्युनिस्ट पार्टीको महासचिवको रूपमा नियुक्त गरे । त्यसले जियाङलाई प्रभावकारी रूपमा आफ्नो समर्थक र उत्तराधिकारीको रूपमा उनले चिनाए । जियाङको असहमतिको दृष्टिकोण प्रखर थियो ।
‘लोकतन्त्र र मानवअधिकार दुवै सापेक्षिक अवधारणा हुन्, पूर्ण र सामान्य होइनन्’ उनले भन्ने गर्थे । सुरुमा धेरैले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए तर कालान्तरमा उनले त्यसलाई गलत साबित गरिदिए । अत्यावश्यक सुधारको गति सुस्त हुन सक्छ वा रोकिन सक्छ भन्ने चिन्ताले देङले जियाङको जोसप्रति आपत्ति व्यक्त गर्न थालेका थिए । तर जियाङले आर्थिक सुधारको नयाँ अवधारणलाई समर्थन गरिदिए । त्यसपछि चीनमा परम्परागत केन्द्र नियन्त्रित अर्थतन्त्रबाट बाहिर निस्कियो । पुँजीवादको लागि नयाँ प्रतिबद्धता आए यद्यपि बजार अर्थशास्त्रको एउटा शैली अन्तर्गत त्यहाँ अझै पनि सरकारको नियन्त्रणमा कायम छ ।
सन् १९९३ मा जियाङले औपचारिक रूपमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरिसकेका थिए । पहिले नै उनी सैन्य आयोगको प्रमुखको रूपमा नियुक्त भइसकेका थिए । त्यसको अर्थ उनी राज्यका तीनवटै शक्तिशाली कार्यालयहरूमा उपस्थित छन् भन्ने थियो । सन् १९९७ मा देङको निधन हुँदासम्म जियाङलाई स्थापित हुनका लागि पर्याप्त समय दिइएको थियो । उनले आफूलाई पार्टीभित्र पनि बलियो बनाउँदै लगेका थिए र ताइवानप्रति कडा नीति लिएका थिए । देशभित्र आफ्नो प्रभुत्व स्थापित गरेपछि उनले विदेशमा चीनको कद बनाउने काम थाले ।
उनले सन् १९९९ मा उनले गरेको ब्रिटेन भ्रमण अत्यन्त विवादास्पद भएको थियो। उनले अमेरिकाको पनि धेरै पटक भ्रमण गरे र विश्व व्यापार सङ्घमा चीनलाई सामेल गराए ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलापछि अमेरिकाले सुरु गरेको ‘आतङ्कवादविरुद्धको लडाइँ’मा उनले गरेको प्रस्तावले अमेरिकासँगको मित्रताको झल्को दिन्छ । उनले नोभेम्बर २००२ मा हु जिन्ताओलाई पार्टी प्रमुखको पद दिएपछि नेतृत्वको सङ्क्रमण सुरु भयो । हु सन् २००३ को मार्चमा जियाङको उत्तराधिकारी बने ।
सन २००४ को सेप्टेम्बरमा जियाङले चीनको सशस्त्र सेनासम्बन्धी आयोगको अध्यक्षको रूपमा आफ्नो अन्तिम प्रमुख राजनीतिक पदबाट राजीनामा दिए । सत्ताबाट पूर्ण रूपमा बाहिरिएपछि उनी वर्षौँसम्म सार्वजनिक रूपमा विरलै देखिए । उनले सन् २००८ मा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा उपस्थिति जनाएका थिए ।
उनी चिनियाँ राजनीतिमा प्रभावशाली रहेका थिए र सन् २०१२ मा नेतृत्वको उत्तराधिकारीसम्बन्धी प्रश्नमा भएको बहसका बेला पुनः प्रभावशाली देखिएका थिए। श्रीमती र दुई छोराहरूका साथ रहेका उनी अन्तिम पटक सन् २०१९ मा सार्वजनिक रूपमा देखापरेका थिए । त्यसबेला उनी जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिक उत्सवमा सहभागी भएका थिए । गत अक्टोबरमा कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनमा उनको अनुपस्थितिलाई उनी अस्वस्थ रहेको सङ्केतका रूपमा हेरिएको थियो ।
विश्वका अधिकांश राष्ट्र जलवायु परिवर्तनका कारण अनेकन चुनौती सामना गर्न विवश भएको स्थितिमा विगत दस वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको, चीनको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र पानी झन् स्वच्छ भएको उल्लेख गर्नुका साथै मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मङ्गलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेसन, विशाल विमानको उत्पादन तथा बायोलोजिकल औषधिलगायत क्षेत्रको आविष्कारक मुलुकको पङ्तिमा चीन प्रवेश गरेको र यो प्रक्रिया निरन्तर अघि बढ्ने उल्लेख गरिएको छ ।
यी सबै उद्देश्य चीनको विशाल पुनरुत्थानसँग जोडिएका विषयवस्तु हुन् । ताइवान मामिलामा बाह्य हस्तक्षेपविरुद्ध चीनले कडा चेतावनी दिएको छ । चीनले विश्वका १४० भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार रहँदा व्यापार परिमाण विश्वको पहिलो स्थानमा रहेको, वैदेशिक लगानीको रकम विश्वको अग्रस्थानमा रहेको, वैदेशिक खुलापन तथा मार्च २०१३ मा घोषित ‘बेल्ट एन्ड रोड (बीआरआई)’ परियोजनालाई साकार पार्ने दृढता व्यक्त गरेर आगामी दिशा निर्देश गरेको छ । यसको तात्पर्य चीन अझ उदार र खुलापनतर्फ अग्रसर हुँदैछ। चीनलाई आजको अवस्थामा आउनमा जियाङको योगदान महत्वपूर्ण छ ।
-नामी साप्ताहिक