काठमाडौ । नागार्जुन नगरपालिकामा कोरोना खोपको पहिलो डोज दिएकाहरुलाई दोश्रो डोजको कार्यक्रम सम्पन्न भएको छ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ भ्याक्सीन २०७७ चैत २५ देखि २०७८ वैशाख ५ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो।
‘भेरोसेल’ खोप दोश्रोचरण अन्तर्गत जेठ २ गतेदेखि ११ गतेसम्म संचालन भएको खोप कार्यक्रम अन्तर्गत दोश्रो डोज खोप सहजरुपले लगाउन नगरपालिकाले दुई स्थानमा खोप केन्द्र संचालन गरेको थियो ।
दोस्रो डोज खोप कार्यक्रममा महिला १ हजार ९ सय ८६ र पुरुष २ हजार २ सय ७३ जना गरी कुल ४ हजार २ सय ५९ जनाले खोप लगाएको नगरपालिकाको कार्यक्रम संयोजक श्रीकृष्णा बस्नेतले जानकारी दिए।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन नगरप्रमुख मोहन बहादुर बस्नेत र नगर उपमुख सुशीला अधिकारीले समय समयमा अनुगमन गरेका थिए।
वडाअध्यक्ष जनप्रतिनिधि स्वास्थ्यकर्मीको सहयोगका कारण दोश्रो चरणको भ्याक्सीन लगाउने कार्य सहज भएको स्वास्थ्य मापदण्ड पालन भएको स्वास्थ्य शाखाका कर्मचारी लता महतले जानकारी दिएका छन ।
नगरपालिकाले कोरोना भाइरसलाई सक्रमण हुन नदिन पिसीआर र एन्टीजिन परीक्षणलाई तिव्रता बनाएको छ। नेपाल सरकारसँग भ्याक्सीन माग गरिएको र सो प्राप्त भएपश्चात अर्को चरणको खोप कार्यक्रम संचालन हुनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८ ०८:५९