काठमाडौँ । नेपालमा सञ्चालित अधिकांश तारे होटलमा पुरुष कार्यकारी सेफ्स रहे पनि ठमेलस्थित एक चारतारे होटलमा भने नेपाली महिलाले कार्यकारी सेफ्सको रूपमा नेतृत्व गरेको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित भेटघाट चोकमा जन्मिएकी कार्यकारी सेफ्स भोजकुमारी शाहले पछिल्लो एक महिनादेखि ठमेलस्थित अमेरिकी चेन होटल रमदा ईन्कोर काठमाडौँको किचनको नेतृत्व सम्हालेको हो । उनी रमदाको कन्टिनेन्टल सेफ्स छन्।
विसं २०४३ मा बुबा विश्वनाथ शाह र आमा शान्तिदेवी शाहको ज्येष्ठ सुपुत्रीका रूपमा जन्मिएकी शाहले स्कूल शिक्षा सुनसरीस्थित पाथिभरा इङ्लिस बोर्डिङ स्कूलबाट पूरा गरिन्। आफ्नो परिवार व्यापार–व्यवसायमा आबद्ध भए पनि उनी भने सेफ्स पेशामा आबद्ध भए ।
गुड सेफर्ड इन्स्टिच्यूट अफ हस्पिटालिटी म्यानेजमेन्ट कालिङपोङ दार्जिलिङबाट हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा र इन्डियन स्कूल अफ बिजनेश म्यानेजमेन्ट कलेज जयपुरबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गरेकी शाहले सन् २००६ देखि सेफ्स पेशा सुरु गरेको हो ।
“मलाई बुबाआमाले नर्स पढ्न आग्रह गर्नुभएको थियो, मलाई नर्स पढ्न मन नलागेर होटल म्यानेजमेन्ट पढेको हुँ, होटल म्यानेजमेन्ट पढ्न भने मलाई दाजुको साथ र सहयोग थियो”, उनले भने । आफूले पढ्ने बेलामा होटल म्यानेजमेन्ट पढ्ने महिलाको सङ्ख्या एकदमै कम भएको उनको भनाइ छ ।
शाहले सन् २००६ मा भारतको गोवास्थित द ललित होटलमा सेफ्ससम्बन्धी इन्टर्नसीप गरेको हो । इन्टर्नसीपसँगै द पार्क होटल बिशाखापट्टनम भारत, नोभोटेल होटल हैदराबाद भारत, अमनबाग होटल जयपुर भारत, द लोधी होटल नयाँदिल्ली भारत, जानुमा प्यालेस भोपाल भारत, अलनादा रिजर्ट एण्ड स्पा ओमान, सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा काम गरेको अनुभव उनीसँग छ।
सेन्टर प्वाइन्ट होटल एण्ड रिसोर्ट नागपुर महाराष्ट्र भारतमा भने शाहले कार्यकारी सेफ्सको रूपमा नै काम गरेको थियो । “अधिकांश तारे होटलका किचनमा पुरुष सेफ्समात्र हुन्छन्, म विगत १६ वर्षदेखि एक्लै किचनमा लडेर यो ठाउँमा आइपुगेको हुँ, म मेरो पेशा र कामप्रति पूर्ण सन्तुष्ट छु, मलाई समाजमा कार्यकारी सेफ्स हुँ भन्दा गर्वको अनुभूति हुन्छ”, उनले भने ।
कोरोनाको समयसँगै काठमाडौँ महानगरपालिका-१६ ठमेलमा २ अर्ब ५० करोड लगानीमा स्थापना भएको रमदामा हाल ९० कोठा रहेका छन् । नौ तले होटलभित्र दुई वटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुई वटा कन्फरेन्स हल छन् ।
होटलका महाप्रबन्धक महेश फुँयाल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खाने कुरा प्रदान गर्दै आएको बताउँछन्। “एउटा रेष्टुराँमार्फत स्पेनिस, अरेबिक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेसियन र इण्डियनलगायतका खाना प्रदान गर्दै आएका छौँ”, उनी भन्छन्।
नेपाली सेफ्सहरुको छाता संस्था सेफ्स एशोसियशन अफ नेपालमा हाल एक हजार ५ सय सेफ्स आबद्ध छन् । विसं २०५३ मा स्थापना भएको एशोसियशनले नेपाली सेफ्सको हक, हित र अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
एशोसियशनका अध्यक्ष श्यामबहादुर लामा सेफ्समा आबद्ध एक हजार ५ सय सेफ्समध्ये जम्मा १५ जनामात्र महिला सेफ्स आबद्ध भएको बताउँछन् । महिला सेफ्स एशोसियशनमा आबद्ध कुल सेफ्स सङ्ख्याको एक प्रतिशत मात्र हो ।
“एशोशियसनमा आबद्ध महिला सेफ्स नेपाली रेष्टुरेन्ट र तारे होटलको सुसेफका रूपमा काम गर्ने गरेका छन्, कार्यकारी सेफ्स अहिलेसम्म कोही महिला सेफ्स भएका छैनन्”, उनी भन्छन् ।
ग्लोबल नेप्लीज सेफ्स फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ्स लक्ष्मणप्रसाद भण्डारी पछिल्लो समय नेपाली महिला सेफ्स नेपाली तारे होटलको कार्यकारी पदमा आउनु नेपाली सेफ्सका लागि गर्वको कुरा भएको बताउँछन्।
आगामी दिनमा महिलालाई सेफ्समा अगाडि बढाउन सेफ्ससम्बन्धी संस्थाले काम गर्नुपर्ने उनको भनाइ छ ।
होटल एशोसियशन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेक महत नेपाली तारे होटलमा नेपाली महिला सेफ्सको सङ्ख्या एकदमै न्यून रहेको बताउँछन्। “नेपाली होटलमा विदेशी महिला सेफ्सले काम गरे पनि नेपाली महिला भने कार्यकारी सेफ्स बनेको पाइँदैन”, उनी भन्छन्।