मिखाइल गोर्भाचोभ तत्कालीन सोभियत सङ्घका अन्तिम नेता हुन् । सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्भाचोभले सोभियत सङ्घमा खुला गर्ने नीति अङ्गीकार गरे पनि सोभियत सङ्को विघटन रोक्न सकेनन् । उनले सन् १९८५ देखि १९९१ सम्म नेतृत्व सम्हाले ।
उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति प्रदान गरेको थियो। सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले अन्ततः सोभियत सङ्घकै विघटन गर्यो । यो घटनाका लागि गोर्भाचोभलाई दोषी ठहर्याइयो । उनलाई कट्टरपन्थी रुसीहरुले भने कहिल्यै माफी दिएनन् ।
सन् १९३१ मार्च २ मा दक्षिणी रुसमा जन्मिएका गोर्भाचोभले सन् १९५५ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घको नेता बने । त्यतिखेर शक्तिशाली पोलिटब्युरोमा उनी सबैभन्दा कान्छा सदस्य थिए ।
अन्तर्राष्ट्रिय मञ्चमा गोर्भाचोभले अमेरिकासँग अस्त्र नियन्त्रण गर्न सहमति गरे भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध ओर्लिँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरे । उनलाई पश्चिमा देशले सुधारका प्रणेता मान्छन् । उनकै कारण सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने आधार निर्माण भयो ।
त्यही भएर सन् १९९० मा उनलाई पूर्व–पश्चिम सम्बन्धमा ठूलो परिवर्तन ल्याउन भूमिका निर्वाह गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिइएको थियो । सोभियत सङ्घको विघटन र शीतयुद्धको अन्त्यपछि भने उनी राजनीतिक हिसाबले किनारामा परे । त्यसपछि उनी शिक्षा तथा मानवीय कार्यमा लागे ।
उनले विना रक्तपात कम्युनिस्ट व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाका लागि ढोका खोलिदिए । जीवनको उत्तराद्र्धमा उनले कम्युनिस्ट विचारभन्दा लोकतान्त्रिक विचारलाई महत्व दिए । त्यही भएर नै उनलाई पश्चिमा देशहरुले राम्रो नेताका रुपमा चित्रित गरे ।
सन् १९९६ मा उनी एक पटक फेरि राजनीतिक जीवनमा फर्किने प्रयास गरे तर सफलता मिलेन । राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५५ मत मात्र प्राप्त गरे । रुसमा उनको लोकप्रियता शून्यमा झर्यो । यद्यपि उनले आफ्नो जीवनकालमा मानवजाति र रुसी जनतालाई फाइदा हुने काम गर्नुका साथै युद्धबाट विश्वलाई जोगाए ।
सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचोभले सोभियत सङ्घको राष्ट्रपति पदबाट आधिकारिक रूपमा राजीनामा दिए । त्यसको भोलिपल्ट त्यहाँको संसद्ले १५ स्वतन्त्र राज्यहरूको स्वतन्त्रतालाई मान्यता दियो र सोभियत सङ्घको अस्तित्व समाप्त भयो । ५४ वर्षको उमेरमा गोर्भाचोभ सन् १९८५ मा सत्तामा आए ।
उनले धरमराउँदै गएको राष्ट्रको अवस्था फेर्न सुधारका कार्यहरू सुरु गरे । उनका दुई नीति पेरेस्त्रोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्ट (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने यी नीति नै सोभियत सङ्घ विघटनको अन्तिम कारक बने ।
अन्तिम दिनमा सोभियत सङ्घको अर्थतन्त्र निकै कमजोर बन्यो । त्यहाँ विश्वका धेरै देशहरूले अपनाएका बजारमुखी अर्थतन्त्रभन्दा फरक केन्द्रीय स्तरमा राज्यले निर्दिष्ट गर्ने अर्थतन्त्र थियो । सोभियत सङ्घमा कारदेखि जुत्ता अनि पाउरोटीसम्म पनि कति उत्पादन गर्ने भन्ने विषय राज्यले निर्धारण गथ्र्यो ।
अन्तिम दिनहरूमा सामान्य सामानहरूको समेत अभाव भई पसलमा भीड लाग्ने गर्दथ्यो । राज्यले नै ती सामग्री प्रत्येक नागरिकलाई कति चाहिन्छ, मूल्य कति हुनुपर्छ र कति पारिश्रमिक दिइनुपर्छ भन्ने कुरा निर्धारण गथ्र्यो । राज्य नियन्त्रित अर्थव्यवस्था अन्ततः सोभियत सङ्घका लागि अभिशाप बन्यो ।
सन् १९५० को दशकको अन्त्यतिर सुरु भएको सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको अन्तरिक्षसम्बन्धी खोज र हतियारको दौडमा भएको ठूलो धनराशी खर्चले अवस्था अझ नराम्रो बनायो । सोभियत सङ्घ मानिसलाई अन्तरिक्षमा पठाउने पहिलो राष्ट्र थियो । ऊसँग निकै उन्नत परमाणु हतियार अनि क्षेप्यास्त्र थिए । यो उसका लागि निकै महँगो सावित भयो ।
यो दौडका लागि लगानी गर्न सोभियत सङ्घ तेल र ग्यासजस्ता प्राकृतिक स्रोतमा निर्भर थियो । तर सन् १९८० को सुरुतिर तेलको मूल्य कम हुन गयो जसले पहिले नै समस्यामा रहेको अर्थतन्त्रमा व्यापक प्रभाव पार्यो । उपभोग्य वस्तुहरूको अभाव देखिन थाल्यो र बजारमा महँगी आकासियो । रुबल अत्यन्तै कमजोर बन्यो । जसले गर्दा जनजीवन अस्तव्यस्त बन्यो ।
गोर्भाचोभको ग्लास्नोस्ट नीति देशमा अभिव्यक्ति स्वतन्त्रता दिनेतर्फ उद्यत् थियो । उनले जोसेफ स्टालिनको पालामा भएको दमनको वास्तविकता दर्साउने इतिहासका पाना पल्टाउन थाले । विदेशमा ख्याति कमाएका उनको आफ्नै देशमा भने चर्को आलोचना भयो। आलोचनाबीच उनले सामान्य रूपमा कम्युनिस्ट पार्टीको वर्चस्वलाई चुनौती दिँदै बहुदलीय व्यवस्थाबारे पनि विचार अघि सारे ।
सोभियत सङ्घ बहुराष्ट्रिय राज्य थियो र रुसी साम्राज्यको उत्तराधिकारी थियो । सङ्घमा १५ राज्य थिए । भ्रातृ राष्ट्रका रूपमा सैद्धान्तिक हिसाबले उनीहरूको अधिकार समान थियो । तर यथार्थमा रुस सबैभन्दा ठूलो अनि शक्तिशाली थियो र रुसी भाषा अनि संस्कृति धेरै क्षेत्रमा हाबी भयो ।
ग्लास्नोस्तले अन्य गणराज्यका मानिसहरूलाई विगतमा भएका जातीय उत्पीडनबारे सचेत गरायो । सन् १९३० को दशकको युक्रेनको अनिकाल, बाल्टिक राज्य अनि पश्चिमी युक्रेनको अधिग्रहण र सोभियत–नाजी मित्रता सन्धि अनि दोस्रो विश्वयुद्धताका कैयौँ जातीय समूहहरूलाई बाहिरिन बाध्य पारिएका घटनाहरूबारे सर्वसाधारणले थाहा पाए । यी र अन्य कैयौँ घटनाहरूले राष्ट्रवाद अनि आत्मनिर्णयको माग व्यापक रूपमा वृद्धि गराए ।
वर्षैसम्म सोभियत सङ्घका जनतालाई पश्चिममा क्षय हुँदै गएको र पुँजीवादी सरकारको नेतृत्वमा त्यहाँका सर्वसाधारणहरूले गरिबीका कारण दुःख पाएका बताइन्थ्यो । सन् १९८० तिर आम सर्वसाधारणबीच सीधा सम्पर्क अनि यात्रामा वृद्धि हुन थालेसँगै यस्तो भनाइलाई बढ्दो रूपमा प्रश्न गर्न थालियो ।
सोभियत सङ्घका जनताले अन्य देशहरूमा जीवनयापनको गुणस्तर, व्यक्तिगत स्वतन्त्रता अनि कल्याणकारी राज्यको स्तर आफ्नोभन्दा धेरै राम्रो भएको देखे । उनीहरूले आफ्ना देशका निकायले आफूलाई यात्रा गर्न नदिएर, विदेशी रेडियो प्रसारण हुन नदिएर र विदेशी साहित्य अनि चलचित्रलाई सेन्सर गरेर यी कुरा लुकाउन खोजेको देखे ।
मूलतः गोर्भाचोभलाई शीतयुद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर आणविक टकरावको खतरालाई रोकेको श्रेय जान्छ । तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए ।
गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नको लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो। तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो । शीतयुद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बने तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बन्नुभयो ।
गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्टमा पुरातनपन्थीहरूले ‘कू’को प्रयास गरे । तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो । ‘कू’को प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्के । तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन् ।
रुसमा बोरिस याल्तसिन अनि सोभियत सङ्घमा अन्य नेताको उदय भयो । त्यसपछि धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपरस्टेटको भविष्य धरापमा पर्यो । गोर्भाचोभलाई एकपक्षीय रूपमा आफूले विस्तार गरेको शक्ति त्यसै छोडिदिएको आरोप लगाइएको थियो । उनले हतारमा पूर्वी जर्मनीबाट सोभियत सेना फिर्ता बोलाउने जस्ता कार्य गरे ।
गोर्भाचोभकै कारण सोभियत सङ्घ विघटन भई १५ टुक्रमा विभाजन भयो । रुसलगायत १५ वटै राज्यलाई स्वतन्त्र बनाई बहुदलीय व्यवस्था ल्याउने कामका लागि उनका नीति सफल भए । सोभियत सङ्घ पक्षधरका लागि भने उनी सधै आलोचनाको पात्र बने । सोभियत सङ्घ विघटनसँगै लामो समयसम्म चलेको शीतयुद्ध अन्त्य भयो ।
विदेशमा लोकप्रिय र स्वदेशका अलोकप्रिय बनेका गोर्भाचोभ जीवनको उत्तराद्र्धमा कम्युनिस्ट शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थातिर आकर्षित भए । आलोचनाको पात्र बने पनि रुसका १५ गणराज्यलाई स्वतन्त्र बनाउन मूल श्रेय भने उनलाई नै जान्छ । ९१ वर्षको उमेरमा उनको अगस्ट ३१ मा निधन भयो । उनी लामो समयदेखि गम्भीर बिरामी भई अस्पताल बसेका थिए ।
- नामी साप्ताहिक