काठमाडौ । देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
राति प्रदेश-१ का पहाडी भू-भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २, २०७९ ११:२९