–श्याम स्मृत
काठमाडौ। सुखमा त सवै हुन्छन्। दुःखमा कोही हुदैन। कोही नहुने त्यो दुःखमा सहयोगी बन्ने नै ठूलो सारथी हो। यसरी अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्ने कार्यलाई समाज सेवा भनिन्छ।
समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ । अरुलाई समस्या परेमा सहयोग गर्नु पर्दछ। त्यसैले समाज र मानिसबीच घनिष्ट सम्बन्ध हुन्छ । तिनीहरू एक अर्कामा निर्भर रहन्छन् ।

मानिस नभए समाज बन्दैन र समाज बिना मान्छेको अस्तित्व रहदैन । मानिस सामाजिक प्राणी भएकोले समाजमा बस्नु उसको विशेषता भएको जिकिर लायन्स क्लब अफ काठमाडौं फेलोसिपका डाइनामिक मेमबर लायन सुशीला श्रेष्ठको रहेको छ।
लायन सुशीला श्रेष्ठको भनाईमा कुनै पनि मानिसले आफ्नो चाहना, आवश्यकता, इच्छा पूरा गर्न देखि समस्याहरु समाधान गर्न समाजमा भर पर्नु पर्दछ । समाजमा बसेका मानिसहरुलाई समाजले धेरै सहयोग गर्दछ ।

यसका साथै मानिसहरु बिच एकता बढाउने काम समाजले गर्दछ । समाज र मानवको आबश्यकताले कानून, सडक, अस्पताल जस्ता अति आवश्यक पुर्वाधारको व्यवस्था मिलाएको हुन्छ ।
समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो। समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ। यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ ।

यो स्वैच्छिक सेवा हो । यो स्वैच्छिक सेवा विसं २०७२ सालको महाभूकम्पवाट पिडितहरुको लागि गरिएको सहयोग अनि कोरोनाको महामारी तथा बाढीपिडितहरुलाई लायन्स क्लब अफ काठमाडौं फेलोसिप लगायत व्यक्तिगत प्रयासवाट सहयोग गर्नु र गराउने कार्य लायन सुशीला श्रेष्ठवाट निरन्तर हुदैआएको छ।
आफूले सिन्धुपाल्चोकको मेलम्ची, नवलपुरदेखि ललितपुरका विभिन्न स्थानमा विभिन्न सहयोग गर्ने र गराउने कार्य गरेर आफूभित्रै आनन्द महशुश गर्दैआएकी लायन सुशीला श्रेष्ठको अनुभवमा समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ।

समाजसेवा गरे पछि मानिसले जनताबाट बदलामा केही आशा गर्दैनन् । यो सेवा मानवीय विचारमा र कुनै लाभको उद्देश्य बिना प्रदान गरिन्छ। व्यक्तिगत स्वार्थभन्दा समाजको हित महत्वपूर्ण हुनेहरू मात्र समाजसेवामा अगाडि आउनु पर्दछ जसले गर्दा समाजको र देशको विकास हुन्छ ।
सानैदेखि सामाजिक कार्य गर्न र गराउन अत्यन्त क्रियाशील लायन सुशीला श्रेष्ठको थातथलो सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती–४ नवलपुर हो । नवलपुरवाट ललितपुरको लगनखेल थतिटोलमा आएर विगत २३ बर्षदेखि नयाँ फेन्सी नामक फेन्सी व्यवसाय गर्दैआएकी लायन सुशीलाको फेन्सी व्यवसाय पछिको अर्को कार्य भनेकै सामाजिक सेवा हो। यस कार्यमा एकमात्र सुपुत्र श्रीजन श्रेष्ठको पनि ठूलो साथ र सहयोग रहेको छ।

हाल अमेरिकाको क्यालिफोर्नियामा अध्ययनरत रहेका सुपत्र श्रीजनको चाहना पनि समाज सेवा नै रहेको सुशीलाको भनाई छ। बाँचुञ्जेल आफूले सक्दो सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि लायन सुशीलाको रहेको छ।