काठमाडौ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले अब आउने बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन् ।
नीति तथा कार्यक्रम नराख्न पाँच जना पुर्वआयुक्तहरुले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेका हो । ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान काम चलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस विषयमा निर्वाचन आयोगले सम्वद्ध पक्षलाई समयमै सजग गराउनु पर्ने समेत उनीहरुको आग्रह गरेका छन्।
विज्ञप्तिमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डाक्टर अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङको हस्ताक्षर रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १२:२९