काठमाडौ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ।
प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बाहिरिन निर्देशन दिएको हो ।
सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सचिव रावलले जानकारी दिए।
यसअघि एमाले स्थायी कमिटी बैठकले पनि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
तर, हिजो बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८ १२:४५