काठमाडौं। दशौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दीपक रौनियार निर्देशित लघु फिल्म ‘फोर नाइट्स’ले नेपाल पानारोमातर्फ उत्कृष्ट फिक्सन फिल्मको अवार्ड जितेको छ ।
डकुमेन्ट्री विधातर्फ भने अनिल बुढामगर निर्देशित आग्रे (आइरन डिगर)ले उत्कृष्ट भएको हो।
फलाम खानीमा काम गर्ने एक वृद्धामाथि आधारित यो डकुमेन्ट्रीले यसअघि काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा पनि उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो । रौनियार र मगरले उत्कृष्ट फिक्सन र उत्कृष्ट डकुमेन्ट्रीबाट नगद ५० हजार प्राप्त गरेका छन्।
त्यस्तै, बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट सावित भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट ठहरियो । दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार प्राप्त गरे ।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेजु, सुनिल न्यौपानेको 'डेथ्स अनएक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मन फिल्ममेकर सेन्गिज अकेगनको ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशनमा बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाए ।
महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन भएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानी काठमाडौंको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिएका थिए ।
शान्ता नेपाली निर्देशित ‘क्लाइमिङ ट्याम्पेचर्स ”टप अफ द वर्ल्ड’ प्रदर्शन गरेर सुरु भएको महोत्सवको समापन रौनियाको ‘फोर नाइट्स’वाट भएको थियो।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९ २०:१९